प्रतिनिधिसभा बैठक, विपक्षीको डरले सूचना टाँसेर स्थगित

346

काठमाडौं।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशदेखि संघीय संसद्सम्म अवरुद्ध गर्ने चेतावनी दिएपछि बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहे पनि बैठकअगावै बिहान सूचना टाँसेर स्थगित गरिएको हो ।

सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद् बैठक स्थगित गरेको सूचना टाँस गरेका हुन् । बिहीबार १ बजे बोलाइएको बैठकमा समेत कांग्रेसले विरोध गर्ने घोषणा गरेपछि सभामुख महराले सरकारको आग्रहमा बैठक नै स्थगित गरेको संसद् सचिवालय स्रोतले जनाएको छ । सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाएपछि कांग्रेसले संसद् अवरुद्ध पार्दै आएको छ । यसमा राजपा र नयाँ शक्ति पनि सामेल हुने भएका छन् ।

सरकारले प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पेस गर्ने तयारी गरे पनि व्यापक विरोध भएपछि सोमबारको बैठकको कार्यसूचीबाट हटाइएको थियो । कार्यसूचीबाट हटाए पनि विधेयक संशोधनसहित दर्ता हुनुपर्ने मागसहित नेपाली कांग्रेससहितका प्रतिपक्ष दलले विरोध गर्ने तयारी गरेका थिए ।
सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको विधेयक टेबुल गर्ने प्रस्तावबाट सरकार पछाडि हटेको थियो । कांग्रेसले विधेयक फिर्ता लिनुपर्ने माग गर्दै केही दिनदेखि संसद् अवरुद्ध गर्दै आएकोमा प्रतिपक्षको अवरोधलाई ध्यान दिँदै विधेयक कार्यसूचीबाट हटाइएको थियो ।

अर्काे बैठक ११ साउन शुक्रबार १ बजे बस्नेगरी बोलाइएको छ ।  प्रतिनिधिसभाको नियमावलीमा शुक्रबारको दिनलाई सरकारका मन्त्री तथा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था छ । नियमावली बनेको दुई महिना बित्नलाग्दासमेत सरकारले प्रश्नोत्तरका लागि मन्त्री र प्रधानमन्त्रीको समय नतोक्दा समस्या उत्पन्न भएको सभामुख कृष्णबहादुर महराले बताएका छन् ।
‘सरकार र सदनबीच एक आपसमा छलफल गराउने पवित्र उद्देश्यले प्रश्नोत्तरको कार्यक्रम राखिएको हो,’ सभामुख महराले भने, ‘सरकारले नियमावली बनेको लामो समय बित्दासमेत बेवास्ता गर्दा यो कार्यक्रम नै सुरु गर्न सकिएको छैन ।’
सरकार सदनप्रति उत्तरदायी बन्न नसकेकोबारे आफूले प्रधानमन्त्रीसँग पटकपटक छलफल गरेको उनले जानकारी दिए । सरकारले सदनको विजनेस दिने विषयमा समेत बेवास्ता गर्दा प्रतिनिधिसभा बैठक नै प्रभावित हुने अवस्थामा पुगेको छ ।