केन्याका डान्सवारमा सयौं नेपाली युवती, २१ को उद्धार

683

अफ्रिकी मुलुक केन्याका डान्सबारमा नेपाली युवतीहरुको मानवतस्करी बढ्दै गएको छ। आकर्षक बैदेशिक रोजगारीको प्रलोभनमा पारेर युवतीहरुलाई त्यहाँ लगिने गरेको प्रहरीले जनाएको छ। धेरैजसोलाई त्यहाँ बन्धक बनाएर बेश्यावृत्तिमा लगाउने गरिएको छ।

केन्याको राजधानी नैरोबीस्थित दुई डान्सबारमा २१ जना नेपाली युवती कार्यरत भेटिएका छन्। केन्याका प्रहरीले बिहीबार उनीहरुलाई उद्धार गरेको छ।

२ वटा डान्सबारकै २१ जना भेटिनुले त्यहाँ ठूलो संख्यामा नेपाली युवतीहरु कार्यरत रहेको पुष्टि हुने मानवतस्करी सम्बन्धि अनुसन्धानमा आबद्ध नेपाल प्रहरीका अधिकारीहरु बताउँछन्।

केन्या प्रहरीको अन्तरदेशिय संगठित अपराध यूनिट र मानव तस्करी तथा बालबालिकाको संरक्षणसम्बन्धि यूनिटले संयुक्त रुपमा छापा हानी उनीहरुलाई उद्धार गरेको हो। उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको छ।

नेपाली युवतीलाई अवैध रुपमा काम लगाउने तीन जना स्थानीय पनि पक्राउ परेको समाचार संस्था एफपीले जनाएको छ।

  विगत १० वर्षअघिदेखि नेपाली युवतीहरुको केन्यामा तस्करी हुन थालेको हो। जसमा ठूलो समूह नै सक्रिय रहेको प्रहरी अधिकारीहरु बताउँछन्। तर, थोरै मात्र पीडितहरुले उजुरी गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा मानवतस्करी सम्बन्धि अपराधको अनुसन्धान गर्ने डिएसपी राजकुमार सिलवाल बताउँछन्। ‘केही महिनाअघि एक पीडित युवती आएकी थिइन्, सो घटनामा हामीले अभियुक्तलाई पक्राउ गरेका पनि थियौं,’ डिएसपी सिलवाल भन्छन्,‘धेरै युवतीहरु केन्या लगिएको भन्ने छ, तर उजुरी थोरै आउँछ।’

नेपाली युवती पक्राउ बारे केन्या प्रहरीको ट्विट 

युवतीहरुलाई त्यहाँ आकर्षक तलब दिइने भएकाले कम उजुरी आएको आँकलन गरिएको छ। केन्याको डान्सबारमा काम गर्ने युवतीलाई मासिक २ लाख रुपैयाँसम्म दिने गरिन्छ।

हालै नेपाल फर्किएकी एक पीडितका अनुसार डान्सबारमा नाँचेपछि ग्राहकसँग रात बिताउन समेत लगाउने गरिएको छ। सोही कारण धेरै तलब दिने गरिएको हो।

खासगरी नेपालका डान्सबारमा कार्यरत युवतीहरुलाई केन्या पठाउने गरिएको एक प्रहरी अधिकारी बताउँछन्।

तीन वर्षअघि सिआईबीले राजेन्द्र सुवेदी नेतृत्वको गिरोहलाई पक्राउ गरेको थियो। उनीहरुले एक सय भन्दा धेरै युवतीहरुलाई केन्या पढाएको अनुसन्धानमा खुलेको थियो।

भारत हुँदै भिजिट भिसामा युवतीहरुलाई केन्या लगिने गरिएको छ। जहाँ उनीहरुलाई डान्सबारमा अवैध रुपमा काम लगाइन्छ। केन्या लगायत अन्य अफ्रिकी मुलुकका डान्सबारमा समेत नेपाली युवतीहरुलाई पुर्‍याएको सिआईबीमा प्रहरी अधिकारीहरु बताउँछन्।