घरपालुवा जनावरबारे ट्रिटनमा प्रर्दशनी
राजधानीको सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले विद्यालय परिसरमै गाउँले जीवनको वातावरण, रहनसहन र परिवेश झल्किने र घरपालुवा जनावरबारे एकदिने प्रर्दशनी आयोजना गरि विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ ।

शहरमा जन्मेर नीजि विद्यालयमा पढ्ने विद्यार्थीहरुले गाउँको परिवेश, वातावरण, रहनसहनबारे व्यवहारिक ज्ञान पाउन नसकेको भनेर अभिभावकले चिन्ता गरिराखेको समयमा अभिभावकको चाहना बमोजिम विद्यालयमा पहिलोपटक त्यस्तो प्रर्दशनी आयोजना गरेको भाइस प्रिन्सिपल ममता शाहले विद्यालयमा बताइन ।
विद्यालय परिसरमा गाउँले परिवेश सृजना गर्न विद्यालयले बाँस, पराल र माटोको व्यवस्था गरि सानासाना ११ वटा गोठ समेत बनाएको थियो । शिक्षकहरुको सहयोगमा ती गोठ बनाउन ७ देखि ९ कक्षासम्मका विद्यार्थीले स्वयमसेवा गरेका थिए ।

ती साना गोठभित्र घरपालुवा जनावरहरु गाई, भैंसी, कुखुरा, हाँस, खरायो, भेडालगायतको कागजमा चित्र बनाई त्यस्ता जनावर पाल्ने तरीका, उनीहरुको विशेषताबारे १ देखि ३ कक्षाका विद्यार्थीमार्फत अन्य विद्यार्थी र उनीहरुका अभिभावकलाई जानकारी गराइएको थियो ।
यसका साथै गाउँका मानिसले कसरी खेतीपाती गर्छन, जाँतोमा कसरी गहुँ पिस्छन भनेर जाँतोकै व्यवस्था गरि विद्यार्थीलाई व्यवहारिकरुपमै गहुँ पिस्न लगाइएको थियो भने अर्का किसानले खेतमा काम गरिरहेको पनि देखाइएको थियो ।
साउन १५ को अवसर पारेर आयोजना गरिएको सो घरपालुवा जनावर प्रर्दशनीमा विद्यालयको चमेनागृहको सहयोगमा ७ कक्षाका विद्यार्थीले खीर र चनाको तरकारी समेत पकाएर अन्य विद्यार्थी र अभिभावकहरुलाई खुवाएका थिए । अन्य विद्यार्थी र अभिभावकको मनोरञ्जनका लागि विद्यालयले घोडा र मिकीमाउसको समेतको व्यवस्था गरेको थियो ।
सो प्रर्दशनीको पुर्व प्रशासक एवम् स्थानीय समाजसेवी शशिविक्रम राणाले उद्घाटन गरेका थिए भने एककिृत उपभोक्ता संघका अध्यक्ष मदन शिवाकोटी, ट्रिटन योग समितिका अध्यक्ष लवराज जोशी तथा पत्रकार एवम् स्काउट गुरु बलराम प्यासी अतिथिको रुपमा थिए ।

यसअघि विद्यालयले हरेक वर्षको असार १५ गते ग्रामीण क्षेत्रमा विद्यार्थीलाई लगेर हिलाम्मे खेतमा बाउसे गर्न, धान रोप्न, झार उखेल्न सिकाउनुको साथै गाउँले जनजिवनबारे व्यवहारिक ज्ञान दिँदै आएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।
विद्यार्थीलाई अव कितावी ज्ञानले मात्रै नभएकोले व्यवहारिक ज्ञान दिनु अत्यन्तै जरुरी भएकोले विद्यालयले संभव भएसम्म कितावमा अध्ययन गरेको विषयलाई व्यवहारिक रुपमै ज्ञान दिइने प्रयास भइरहेको भाइस प्रिन्सिपल ममता शाहले बताइन ।
‘यसरी व्यवहारिक ज्ञान दिँदा विद्यार्थीले आफुले सिकेको कुरा कहिल्यैपनि विर्सिदैँनन’—भाइस प्रिन्सिपल शाहले भनीन ।
विद्यार्थीलाई आफ्नो काम आफैं गरि आत्मनिर्भर बनाउन विद्यालयले स्काउटिंग शिक्षालाई पनि उत्तिकै जोड दिँदै आएको छ भने विद्यार्थीलाई विभिन्न परिकारका खाना पकाउने कला पनि सिकाउँदै आएको छ ।







































