भूताहा वा हरर फिल्म हेर्दा पनि स्वास्थ्यलाई फाइदा हुने केही अध्ययनले देखाएका छन् । तर व्यक्तिको स्वास्थ्यस्थितिमा कतिसम्म डराउने कुरा निर्भर रहने पनि अध्ययनले देखाएको छ ।
सन् २०१२ मा बेलायतमा वेस्टमिन्स्टर विश्वविद्यालयमा गरिएको एक अध्ययनमा १० विभिन्न व्यक्तिलाई भूताहा फिल्म हेर्न लगाइयो । त्यतिखेर उनीहरूको धडकनको चाल, कार्बन डाइअक्साइड आउटपुट र अक्सिजन इनपुटको निगरानी गरियो
।
सबभन्दा धेरैपटक भूताहा फिल्म हेर्ने व्यक्ति धेरै डराएर उफ्रियो । यसो गर्दा उसले १८४ क्यालोरी डढायो । यो स्ट्रेसफुल स्टिम्युलाइका कारण हुन्छ जसले गर्दा एड्रेनलिन हर्मोन रिलिज हुन्छ । यसकारण मुटुको धडकन बढ्छ र शरीरबाट एनर्जी रिलिज हुन्छ ।
स्ट्रेस जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, तर्साउने फिल्म हेर्दा मानिसको रोगप्रतिरोधात्मक क्षमता सुध्रिन्छ । अध्ययनले यस्तो दाबी गरेपनि यसको सत्यापन हुन भने बाँकी छ ।
शरीरमा नेगेटिभ स्टिम्युलाइ उत्पन्न हुँदा मानिसको मूडमा सुधार आउँछ । मानिस कम चिन्ता अनुभव गर्छन् र उनीहरू कम चिडचिडाउँछन् ।
भूताहा फिल्म हेरेर नडराउने मानिसलाई चाहिँ यो फाइदा हुँदैन ।
तर कमजोर दिल भएका मानिसले तर्साउने फिल्म हेर्नुहुँदैन । स्वास्थ्यको फाइदा हुने चक्करमा मुटुसँग खेलवाड गर्नुहुँदैन ।