‘अपराधबारे सूचना पाउन नागरिकसंग सहकार्य ’
काठमाडौं । महानगरपालिकाको ३२ नं वडाका १० टोलमध्ये टोलटोलमा प्रहरी अभियानको चौथो श्रृंखला शनिबार सुविधानगर,तिनकुनेमा‘वृहत जनचेतनामूलक र्याली तथा अन्तरकृया’कार्यक्रम गरि मनाइएको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज र सामुदायिक प्रहरी सेवा कोटेश्वरको सहकार्यमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले आयोजना गरेको सो कार्यक्रममा नेपाल प्रहरी, स्काउट, विभिन्न विद्यालय र कलेजका विद्यार्थीका साथै स्थानीय वासिन्दाको सहभागिता थियो ।
तिनकुने, सुविधानगर हुँदै व्यानर र प्लेकार्ड सहित भित्री टोलटोलमा घुमेर ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलमा आयोजित र्याली समापन समारोहलाई सम्वोधन गर्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले एक महिनादेखि लगातार सञ्चालन गर्दै आएको अभियानले समाजका विकृति रविसंगतीका साथै अपराध अन्त्यगर्न प्रहरीलाई सहयोग पुगेको दावी गरे ।

उनले वृत्त अन्तर्गत पर्ने काठमाडौं महानगरका १०, ३१ र ३२ वडामा गैर कानूनीरुपमा यौनजन्य गतिविधि, छात्रावास (होस्टेल)का समस्या, अव्यवस्थित सवारी पार्किग र चोरी लगायतका समस्या बढी भएको गुनासो आइराखेको समयमा आफुले २ महिनाको अवधिमा यी समस्यालाई सम्बोधन गर्न सकेको दावी गरे ।
टोलटोलमा प्रहरी अभियान सञ्चालन गरेर नागरिकसंग भेटघाट गर्दा र उनीहरुसंग घुलमिल हुँदा समाजमा व्याप्त विकृति, विसंगती, अपराध र अपराधिबारे प्रहरीलाई सूचना प्राप्तगर्न सजिलो भएको डिएसपि काफ्लले बताए ।
नागरिकसंगको सहकार्यमा १०, ३१ र ३२ गरी तीनवटा वडाका १० वटा टोलमा अभियान सञ्चालन गरिसकेको बताउँदै काफ्लेले हालसम्म काम गर्दा कुनै पनि राजनैतिक दलबाट कुनै दवाव नआएको बरु नागरिकहरुबाट सहयोग पाएको बताए ।
नेपालप्रहरीबाट उत्कृष्ट प्रहरी निरीक्षक पुरस्कारबाट पुरस्कृत महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामाले प्रभाग अन्तर्गतका टोलटोलमा सञ्चालन गरेको जनचेतना मूलक कार्यक्रमले अपराध नियन्त्रण हुँदै आएको दावी गरे ।

स्थानीय बासिन्दाले घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको सम्पूर्ण विवरण राख्न र उनीहरुका गतिविधिमाथि निगरानी बढाउन प्रभागले पछिल्लो समयमा जनचेतना फैलाउने काम गरेको र यसलाई निरन्तरता दिइने बताए ।
साउन र भदौ बढी चोरी हुने सिजन भएको उल्लेख गर्दै निरीक्षक लामाले यस अवधिमा घरधनीहरु बढी सचेत हुनुपर्ने र संभव भएसम्म घर या टोलटोलमा सिसिटिभी जडान गर्नेदेखि सूरक्षाका उपाय बढी अपनाई चनाखो रहन आग्रह गरे ।
कार्यक्रममा सामुदायिक सेवा तथा विकास समाज र सामुदायिक प्रहरी सेवा कोटेश्वरकी अध्यक्ष मन्सुरी मल्ल ठकुरी, ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदी, एकिकृत उपभोक्ता संघकी उपाध्यक्ष तथा महिला समितिकी संयोजक हिरा थापा मगर, संघका सल्लाहकार लिलाराज पाठक, थापागाउँ टोल सुधार समितिका अध्यक्ष प्रा.दिपक थापा, ओमकार परिवारका अध्यक्ष मुकुन्द शर्मा तथा मनोहरा सम्पदा समाजका अध्यक्ष पदम कुमार रेग्मीलगायतले पछिल्लो समयमा नेपाल प्रहरीले सञ्चालन गरेको टोलटोलमा प्रहरी अभियान सफलहुँदै आएकोमा खुसी व्यक्त गरे ।
एकिकृत उपभोक्ता संघका अध्यक्षतथा ४ नं टोल समितिका संयोजक मदन शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्रिटन स्काउट समूहका स्काउटहरुले नृत्य प्रस्तुत गरेका थिए ।






































