सेप्टेम्बर ११ को हमलापछि न्यूयोर्कमा १० हजारलार्इ क्यान्सर

430

हालसम्म ४२० जनाको ज्यान गयो

न्यूयोर्क : अमेरिकाको न्यूयोर्कमा सन् २००१ सेप्टेम्बर ११ तारिखमा भएको हमलापछि फैलिएको धुलो र धुवाँबाट हालसम्म १० हजार जनालार्इ क्यान्सर भएको छ ।

ट्विन टावरमा हमला भएयताका १७ वर्षमा क्यान्सरबाट ज्यान गुमाउनेको संख्या ४२० नाघेको छ । अन्य रोग र हृदयघातबाट यहाँ जम्मा १७ सयले ज्यान गुमाएका छन् ।

वर्ल्ड ट्रेड सेन्टरको संघीय हेल्थ प्रोग्रामले अहिलेसम्म सेप्टेम्बर ११ को हमलापछि क्यान्सर भएका ९ हजार ७ सय ९५ जना रोगीको पहिचान गरिसकेको छ। उनीहरूलार्इ ट्विन टावरमा हमलापछि निस्केक धुवाँ-धुलोले क्यान्सर भएको थियो ।

बेलायतको चर्चित पत्रिका द सनका अनुसार हमलापछि उद्धारमा जुटेकाहरूलार्इ धेरैजसो छालाको क्यान्सर भएको छ। सन् २०१३ मा हमलबाट प्रभावित मानिसको जाँचका लागि संघीय प्रोग्राम सुरू गरिएयता क्यान्सरका बिरामीको संख्यामा लगातार बढोत्तरी भएको छ ।

शोधका क्रममा सामुन्ने आएको विवरण अनुसार उद्धार कार्यमा जुटेका मानिसमा सबैभन्दा धेरै थाइराइड र छालाको क्यान्सर भएको छ । यसका अलावा फोक्सो र  पित्त थैलीको क्यान्सर सबैभन्दा धेरै पाइइको छ । घाँटी र जोर्नीको समस्या पनि मानिसहरूमा पाइएको छ।

सेप्टेम्बर ११ को हवाई हमलाका क्रममा २९ सय ७७ जना मारिएका थिए । अलकायदाका आतंकवादीहरूले ११ सेप्टेम्बर २००१ मा दुर्इ विमानलार्इ अपहरण गरेर अमेरिकाका सार्वजनिक स्थानमा हमला गरेका थिए ।

यसमा वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र अन्य स्थानमा २९ ७७ जनाको ज्यान गएको थियो । वर्ल्ड ट्रेड सेन्टरमा मात्रै २७ सय ५३ जनाले ज्यान गुमाएका थिए । राहत र उद्धारकार्य पुरा गर्न करिब ३१ लाख घण्टासम्म मानिसहरू जुटेका थिए । वर्ल्ड ट्रेड सेन्टरको धुलो र भग्नवाशेष सफा गर्न नै जम्मा ७५ करोड डलर (करिब ८२८७.११ करोड रुपैयाँ) खर्च भएको थियो ।