भक्तपुर । भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनस्र्थापना केन्द्रले सिन्धुपाल्चोक स्थायी घर भएकी ५२ वर्षीय एचआईभी संक्रमित एकल महिलालाई पन्ध्र हजार रुपैयाँ जिविकोपार्जन सहयोग गरेको छ ।
एचआईभी संक्रमण भएर पनि भक्तपुरमा किराना पसल सञ्चालन गर्दै आएकी उनलाई किराना पसलको स्तरोन्नति गर्न उक्त सहयोग गरिएको सुरुवातका अध्यक्ष राजेश दिदियाले जानकारी दिए ।
‘संक्रमित एकल महिलाकी एक्ली छोरी पनि एचआईभी संक्रमित छिन्’, उनले भने, ‘त्यसैले उनको किराना पसलको स्तरोन्नति गर्न १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हौं ।’
उनका अनुसार आर्थिक रुपले विपन्न उनी गलैंचा बुन्ने कामसमेत गर्छिन् । तर त्यसले मात्रै जिविकोपार्जन गर्न असहज भएपछि सानो किराना पसल गर्दै आएकी छन् ।
ग्लोबल फण्डको एचआईभी कार्यक्रमअन्तर्गत सेभ द चिल्ड्रेन र राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीप्लसएन) मातहत उक्त आर्थिक सहयोग गरिएको सुरुवातका कार्यक्रम संयोजक पन्नोश शर्माले जानकारी दिए ।
सुरुवातबाट प्राप्त सहयोगले किराना पसलमा फर्निचरका सामानसँगै अन्य वस्तु थप्ने संक्रमित महिलाले बताइन् ।
यसअघि सुरुवातले पाठेघरको मुखको क्यान्सर भएकी एचआईभी संक्रमित महिलालाई पनि उपचार गर्न ७१ हजार नौसय ९० रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
क्यान्सर उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएकी उनलाई राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) तथा राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीप्लसएन) को लक्षित समूह कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको थियो ।
सुरुवातले एचआईभी संक्रमितहरुको लागि उपचार तथा पुनस्र्थापना कार्यक्रमसँगै आयआर्जनको क्षेत्रमा काम गर्दै आएको छ । त्यस्तै एचआईभी भएका बालबालिकालाई मासिक एक हजार रुपैयाँ निर्वाह भत्ता (कावा) समेत सुरुवातले वितरण गर्दै आएको संस्थाका अध्यक्ष दिदिया बताउँछन् ।
‘एचआईभी संक्रमितहरुको औषधोपचार र पुनस्र्थापना सँगसँगै उनीहरुको आयआर्जनको लागि आधुनिक गोलभेंडा खेती गर्दै आएका छौं’, उनले भने, ‘देशभरका संक्रमितहरुलाई उक्त फार्ममा तालिम दिँदै आएका छौं । तालिमबाट व्यवसायिक खेती गर्नेहरुलाई बीउ पूँजीसमेत उपलब्ध गराउँछौं ।’
सुरुवातमा आयोजित व्यवसायिक गोलभेंडा खेतीसम्बन्धी तालिम लिएकी कास्कीको पोखराकी एक संक्रमित महिलालाई यसै वर्ष १५ हजार रुपैयाँ बीऊ पुँजी सहयोग उनले जानकारी दिए ।indepth