सुर्खेत- मंगलबार राति सुर्खेतको गुर्भाकोट नगरपालिकामा दुई बालिका बलात्कृत भए। तीजको नाच हेर्न छिमेकीको घरमा गएका १५ र १७ वर्षीया बालिकालाई स्थानीय दुई युवाले नजिकैको विद्यालयमा लगेर जबरजस्ती करणी गरेका हुन्। बलात्कार गर्ने दुई जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक फरार छन्। उनको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसूदन न्यौपानले जानकारी दिए।
यस्तै, गत असार २८ गते राति १२ बजे गुर्भाकोट नगरपालिकाकै ५२ वर्षीय लोकबहादुर कामीले आफन्तकै ११ वर्षीया छोरीलाई बलात्कार गरे। त्यसको एक महिना बित्न नपाउँदै साउन १९ मा गुर्भाकोटसँग सिमाना जोडिएको भेरीगंगा नगरपालिकाका एक युवाले ११ वर्षीया छोरीलाई बलात्कार गरे। कोठा सफा गर्ने बहानामा छोरीलाई बोलाएर उनले जबरजस्ती करणी गरेका हुन्। बुवाले आफूमाथि पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीसामु बयान दिइकी छन्। आमा उपचार गर्न कोहलपुर गएको समयमा आमाको रिसले छोरीमाथि बलात्कार गरेको उनले स्वीकारेका छन्।
यी घटना त बलात्कारका केही दृष्टान्त मात्रै हुन्।
सुर्खेत जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढ्न थालेका छन्। त्यसमा पनि विशेष गरेर बालिकाहरु बलात्कारको सिकार भइरहेका छन्। पछिल्ला केही महिना भएका घटना मात्र होइन केही वर्षयताको तथ्यांक हेर्ने हो भने पनि जिल्लामा बलात्कारका डरलाग्दा घटना बाहिरिएका छन्।
आर्थिक वर्ष २०७२/२०७३ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३८ वटा जबरजस्ती करणका मुद्दा दर्ता भएका थिए भने त्यसको पछिल्लो वर्ष अर्थात् २०७३/०७४ मा ३५ वटा र गत आव २०७४/०७५ मा ३६ वटा बलात्कार सम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन्। चालु आर्थिक वर्षको एक महिनामा मात्रै ७ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
बाबु, शिक्षक र प्रहरीबाटै बलात्कृत
घटना सार्वजनिक भई उजुरी तथा मुद्दा दर्ता भए पनि त्यसबाहेकका कतिपय घटना सार्वजनिक नै हुँदैनन्। डर, धाकधम्की, ज्यानकै जोखिम हुने, बेइज्जतीको डर आदिका कारण धेरै पीडितहरुले आफूमाथिको भएको बलात्कारका घटना सार्वजनिक गर्न सकेका छैनन्, गुपचुपमै राख्ने गरेका छन्। विशेषगरी आफन्तबाटै भएका बलात्कारका घटना सार्वजनिक नहुने गरेको प्रहरी स्रोत बताउँछ।
प्रहरीमा दर्ता भएका घटनालाई हेर्ने हो भने पनि बलात्कारका धेरै घटना आफन्तबाटै भएका छन्। आफ्नै बावु, कानुन पालना गराउने र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने प्रहरी र शिक्षकबाट समेत बालिकाहरु बलात्कृत भइरहेका छन्।
केही महिनाअघि दुई जना छात्रा बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका एक शिक्षक पक्राउ परेका थिए। कक्षा ७ मा पढ्ने ती बालिकालाई चक्लेटसँगै यौन उत्तेजना बढाउने औषधि खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
गत चैत्र १३ गते एसइई दिन बावियाचौरमा डेरा गरेर बसेकी पञ्चपुरी नगरपालिकाकै १८ वर्षीया गौरीकला रोकायको सामूहिक बलात्कारपछि हत्या भएको थियो। किशोरी बलात्कारमा बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी नगरपालिका ८ का २८ वर्षीय खुमप्रसाद बास्तोला र उनका भाइ २० वर्षीय लक्ष्मी बास्तोला अहिले पुर्पक्षका लागि थुनामा छन्।
यसरी जिल्लामा लगातार बालिकामाथि बर्बर रुपमा बलात्कार गरिएका घटना सार्वजनिक भइरहेका छन्। त्यसमा पनि प्रहरी, शिक्षक र आफन्तबाटै बलात्कारका घटना हुनुले सामाजिक असुरक्षाको अवस्था भयावह देखाएको छ।
बलात्कारका केही घटना अदालतसम्म पुगेका छन् भने केही अनुसन्धानकै क्रममा छन्। बलात्कारका कतिपय घटना भने प्रहरी कार्यालयसम्म नपुग्ने गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसूदन न्यौपाने बताउँछन्। बलात्कार जस्तो जघन्य अपराध पनि लेनदेनका आधारमा मिलापत्रमा टुंगिने गरेको समेत उनले बताए।