गाईजात्रामा यसरी गरियो सरकारमाथि व्यङ्ग्य (फोटो फिचर)

1265

भक्तपुर । भक्तपुरमा ओली सरकारको गाईजात्रा निकालिएको छ। नेपालभाषी समुदायमा दिवंगत व्यक्तिको सम्झनामा मात्रै गाईजात्रा निकालिन्छ तर भक्तपुरमा ओली सरकार मरेको प्रतिक स्वरुप गाईजात्रा निकालिएको हो।

ओली सरकारको गाईको प्रतिक स्वरुप जात्रालुले कुर्सी बोकेका थिए। कुर्सीमा गोली एण्ड गफ सरकार लेखिएको थियो। कुर्सीको दायाँबायाँ ओली सरकारका काल्पनिक योजना, गफाडी सरकारलगायत लेखिएको थियो।

त्यस्तै उक्त कुर्सीलाई भ्रष्टाचारी, बलात्कारी, ठेकेदार, गुण्डा, डन, पानीजहाज लेखिएको छाता ओढाइएको थियो। त्यस्तै घिन्ताङघिसी नाच नाच्ने जात्रालुले ओलीको पानी जहाज,

नेपाली कर्मचारीको परिचयलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई व्यंग्य गरिएका कार्टुन बोकेका थिए।

 

समावेशी हुँदै भक्तपुर गाईजात्रा

पछिल्लो समय भक्तपुरको गाईजात्रा समावेशी हुन थालेको छ। नेपालभाषीहरूले मात्रै मनाउने गाईजात्रामा गैर नेपालभाषी नेपालीसँगै विदेशी समेत सहभागी हुन थालेका हुन्।

भक्तपुरको गाईजात्रामा नाचिने घिन्ताङघिसी नाचमा नेपालभाषीभन्दा अहिले गैरनेपाल भाषाीको सहभागिता बढ्न थालेको छ। घिन्ताङघिसी नाचसँगै गाईजात्रा हेर्ने जात्रालुमा समेत गैरनेपाल भाषीको बाहुल्यता बढ्न थालेको छ।

जसले गर्दा भक्तपुरको गाईजात्रा तथा घिन्ताङघिसी नाच घुम्ने बाटोहरू साँघुरा हुन पुगेका छन्।

झन् कति ठाउँमा भूकम्पले चर्काएका घर तथा मन्दिरमा टेको लगाइएका कारण बाटो झन् झन् साँघुरो हुन पुगेका हुन्।

सोमबार भैरव तथा भद्रकालीको गाईजात्रा निकालिएसँगै भक्तपुरमा नौदिनसम्म मनाइने गाईजात्रा सकिएको छ। वर्षभरिमा दिवंगतको सम्मान तथा सम्झनामा गाईको प्रतिक बनाइ नगर परिक्रमासँगै घिन्ताङघिसी सकिएको हो।

भदौ प्रतिपदाको दिन मृतकको आत्मालाई गाईको प्रदर्शनले यमलोकमा प्रवेश हुने जनविश्वासअनुसार नेपालभाषीहरू प्रत्येक वर्ष यस दिन गाईजात्रा मनाउँछन्। गाईजात्रालाई स्थानीय भाषामा सापारु पनि भनिन्छ।