जीवन गिरी
भक्तपुर । तीज भनेपछि महिलाहरुले नाचगान गरी रमाइलो गर्ने तथा दर खाने पर्व मानिन्छ । त्यसैले तीज आउनु महिनादिन अघि नै पार्टी प्यालेसलगायतका ठाउँमा कार्यक्रम गर्ने प्रवृत्ति बढ्न थालेको छ ।
तीजको नाउँमा एकोहोरो गीतसंगीतमा झुम्ने र खानपिन गर्ने परम्पराविपरीत भक्तपुरमा तीजको रचनात्मक उपयोग गरिएको छ । भक्तपुरको सूर्यविनायकस्थित बज्र व्युटीपार्लर तथा तालिम केन्द्रले फरक शैलीको कार्यक्रम गरी तीज मनाएको हो । उसले व्युटीपार्लरको क्षेत्रमा निरन्तर १२ वर्षदेखि माथि कार्यरत १० जना वरिष्ठ सौन्दर्यकला व्यवसायी महिलाहरुलाई सम्मान गरेको हो ।

भक्तपुरमा २७ वर्षदेखि निरन्तर व्युटीपार्लर सञ्चालन गर्दै आएका सरिता भुजू, सत्यभामा प्रजापति र सहना प्रधानाङलाई सम्मान गरिएको हो । त्यस्तै मेनुका प्रधान (२५ वर्ष), मैंया शाक्य (१८ वर्ष), सजना कार्की (१७ वर्ष), मेनुका उप्रेती (१६ वर्ष), तारा बस्नेत (१५ वर्ष), सविता कर्माचार्य (१५ वर्ष) र श्रीदेवी प्रजापति (१२ वर्ष) लाई पनि सम्मान गरिएको छ ।
त्यस्तै भक्तपुरमा मनोक्रान्ति अभियानलाई निरन्तरता दिँदै आएकी तपस्वी रवीनानन्दलाई पनि सम्मान गरियो ।
तीज महिलाहरुको महान पर्व भए महिलाकै हितमा यसलाई उपयोग गर्नुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको केन्द्रकी सञ्चालिका सुमित्रा श्रेष्ठले जानकारी दिइन् ।
‘नाचगान र खानपिनमात्रै गरेर तीज मनाउनु सार्थक देखिँदैन’, उनले भनिन्, ‘तीज महिलाहरुको पर्व हो भने महिलाको लागि अर्थपूर्ण हुनुपर्छ ।’
केन्द्रको तर्फबाट सौन्दर्यकला व्यवसायी तथा मनोक्रान्ति अभियन्तालाई भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष वीरेन्द्र जतीले सम्मान गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष जतीले रसायन मिसिएको सौन्दर्य प्रशाधन प्रयोग नगर्न र नगराउन सौन्दर्य कला व्यवसायीहरुलाई आग्रह गरे ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी आचारसंहिताले रसायनयुक्त सौन्दर्य प्रशाधन प्रयोग गर्दा स्वास्थ्य समस्या तथा छालामा संक्रमण देखिए कारबाही हुने लेखिएको जानकारी दिँदै उनले गुणस्तरीय एवं रसायनरहित सौन्दर्य प्रशाधनमात्रै प्रयोग गर्न सुझाव दिए ।

कार्यक्रममा स्टाइल एण्ड सिटी भक्तपुरले फेसन सो प्रस्तुत गर्दै मोडलहरुलाई ¥याम्पमा उतारेको थियो । महिलाहरुलाई मोडलिङ र सौन्दर्यकला व्यवसायको ब्राण्डिङ गर्नेबारे जानकारी दिन उक्त फेसन सो प्रस्तुत गरिएको स्टाइल एण्ड सिटीका प्रवन्ध निर्देशक विपीन रञ्जितले जानकारी दिए ।
सहभागी महिलाहरुलाई सौन्दर्य प्रशाधन उत्पादकहरु स्पावेक, ल्याक्मी, अस्टवेरी, ग्लोरी म्याक्स, जेबी कस्मेटिकलगायतले गिफ्ट ह्याम्पर वितरण गरेको औपचारिक कार्यक्रमपछि महिलाहरुले नाचगान र खानपिन गर्दै तीज मनाएका थिए ।







































