शीर्ष नेता नै जादैनन् पार्टी कार्यालय
काठमाडौं । दुई अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को ‘हेडक्वार्टर’ तात्कालीन एमालेको कार्यालय धुम्बाराही कायम भयो । तात्कालीन माओवादी केन्द्रको पेरिसडाँडास्थित ‘हेडक्वार्टर’ भने जनवर्गीय संगठनको कार्यालय भयो ।
कार्यालय बाँडफाँट टुंगिए पनि ने क पाको सञ्चालन भने न धुम्बाराहीबाट हुन्छ, न पेरिसडाँडाँबाट । कार्यालयको टुंगो लागे पनि पार्टी सञ्चालन भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भइरहेको छ । पार्टीका महत्वपूर्ण बैठक, भेटघाट, छलफलसमेत प्रधानमन्त्री निवास बालुवाटारमै हुने गरेको छ ।सुभाष साह,अाजकाे राजधानी दैनिकमा लेख्छन् ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीका सबै बैठक बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । सरकारका अतिरिक्त पार्टीसमेत बालुवाटारकेन्द्रित भएपछि प्रधानमन्त्री ओलीको दैनिकी अति व्यस्त छ ।
३२ साउनयता प्रधानमन्त्री ओली पार्टी कार्यालय पुग्न भ्याएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली मात्र होइन अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सबैजसो सचिवालय सदस्यले त्यसयता पार्टी केन्द्रीय कार्यालयमा पाइला नै टेकेका छैनन् । गत ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।
पार्टी एकीकरणपश्चात् केन्द्रीय कार्यालय धुम्बाराहीबाट सञ्चालन हुन्छ । शीर्ष नेतादेखि सचिवालय सदस्यसमेत पार्टी कार्यालय नपुगेपछि पार्टी कार्यालय सुनसान छ । जिल्लाबाट आउने नेता, कार्यकर्ताहरू कार्यालय पुगे पनि शीर्ष नेतासँग भेटघाट हुदैन ।
शीर्ष नेतालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार, होटल वा उनीहरूको निजी निवासमै पुग्नुपर्ने बाध्यता रहेको एक नेताले बताए । पार्टी कार्यालयमा जाँदा नेतासँग भेट असम्भव भएपछि कार्यकर्ताहरू नेता निवासमै धाउन थालेको उनको भनाइ छ ।
ने क पाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि ३२ साउनयता पार्टी केन्द्रीय कार्यालय धुम्बाराही गएका छैनन् । ३२ साउनमा पार्टी प्रवेश कार्यक्रमका लागि केन्द्रीय कार्यालय पुगेका अध्यक्षद्वय ओली र दाहाल त्यसयता कार्यालय नआएको स्रोतले जनाएको छ ।
पार्टी अध्यक्षद्वय ओली र दाहाल मात्रै होइन वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमेत केन्द्रीय कार्यालय जादैनन् । ओली र दाहाल एकैचोटी विदेश गएका बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका नेपालले पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा गरेका थिए । त्यसयता वरिष्ठ नेता नेपालले पनि पार्टी कार्यालयमा पाइला टेकेका छैनन् ।
अर्का वरिष्ठ नेता खनाल पार्टी एकीकरण घोषणा भएपछि एकचोटी मात्रै केन्द्रीय कार्यालय पुगेको स्रोतले बतायो । उपचारका लागि चीन गएका खनाल फर्किएलगतै पार्टी सदस्यता नवीकरणका लागि केन्द्रीय कार्यालय पुगे । त्यसयता उनी कार्यालय पुगेका छैनन् ।
पार्टीको सबैभन्दा शक्तिशाली कमिटी सचिवालय हो । सचिवालयमा रहेका अन्य नेता पनि कार्यालयमा पुग्दैनन् । सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल (उपप्रधान तथा रक्षामन्त्री), रामबहादुर थापा (गृहमन्त्री) पार्टी एकीकरणयता एकचोटी पनि केन्द्रीय कार्यालय गएका छैनन् ।
सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ एकपटक केन्द्रीय कार्यालय पुगे । पार्टीको विदेश विभागको प्रतिवेदनसम्बन्धी काम गर्न उनी केन्द्रीय कार्यालय पुगे । त्यसयता उनी पनि कार्यालय पुगेका छैनन् ।
पार्टी सचिवालयमा रहेका र मन्त्रीसमेत भएका नेता मन्त्री क्वार्टर, मन्त्रालय वा होटलमै भेटघाट गर्छन् । मन्त्री नभएका नेता घर वा होटलमै नेता, कार्यकर्तासँग भेटघाट गर्छन् । पार्टीको काम हुँदा प्रधानमन्त्री निवासमै शीर्ष नेताहरू पुग्ने गरेका छन् ।
महासचिव विष्णु पौडेल भने नियमित कार्यालय जान्छन् । पार्टीका काम, भेटघाटलगायतका काम उनी कार्यालयबाटै सञ्चालन गर्छन् । १४ भदौयता भने उनी पनि कार्यालय पुगेका छैनन् ।
ने क पाका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको दैनिकी ज्यादै नै व्यस्त भएकाले पार्टीको कामसमेत बालुवाटारबाट गर्नुपर्ने बाध्यता रहेको हुन सक्ने बताए ।
‘प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्षको दैनिकी ज्यादै नै व्यस्त छ, समय अभाव एवं व्यस्तताले होला सायद उहाँ बालुवाटारमै बैठक बोलाउनुहुन्छ,’ रिजालले भने, ‘तर, प्रधानमन्त्री अन्य कार्यक्रमका साथै कार्यकर्तासँगको १५ दिनमा हुने नियमित भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै गर्नुहुन्छ ।’
पार्टी अहिले एकीकरणको प्रक्रियामा रहेकाले शीर्ष नेताको समेत दैनिकी व्यस्त भएको उनले बताए । प्रदेश, जिल्ला, जनवर्गीय संगठनको एकता टुंगो लगाउँदै पार्टी व्यवस्थित एवं संस्थागत रूपमा अघि बढ्ने रिजालले बताए ।