फाइनल पुग्ने नेपालको लक्ष्य अधुरै, सेमिफाइनलमा माल्दिभ्ससँग पराजित

206

काठमाडौं– साफ सुजुकी कप २०१८ को फाइनल पुग्ने नेपालको सपना अधुरै भएको छ।  बुधबार बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि पहिलोपटक फाइनल पुग्ने नेपालको लक्ष्य पूरा हुन सकेन। 

माल्दिभ्सले पहिलो हाफको सुरुवातमा १ गोल गर्दा अन्तिम ५ मिनेटमा २ गोल गरेको थियो।

माल्दिभ्सले नवौं मिनेटमा अग्रता लिएको थियो। माल्दिभ्सका कप्तान अकरम अब्दुलले फ्रिकिङमार्फत गोल गरेका थिए। डिबक्सबाहिर प्राप्त फ्रिकिङमा उनको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले रोक्ने मौका नै पाएनन्। 

पहिलो हाफमा भारी वर्षा भएका कारण खेल केहि बेर रोकिएको थियो। जसले गर्दा मैदान हिलो तथा चिप्लो भएको थियो। 

पहिलो हाफमा १–० गोलले पछि परेको नेपाल दोस्रो हाफमा आक्रमक रुपमा उत्रियो। लगातार माल्दिभ्सविरुद्ध दबाब भएको नेपालले ८४ मिनेटमा काउन्टर आक्रामणबाट गोल खाएको थियो। माल्दिभ्सका इब्राहिम वाहिद हसनले गोल गरेर माल्दिभ्सलाई २–० ले अघि बढाए। २ मिनेटपछि तेस्रो गोल खाएपछि नेपाल हार उन्मुख भएको थियो। ८६ मिनेटमा उनै हसनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। 

खेलको अन्त्यमा नेपालका विमल घर्मीमगरको प्रयासले गोल पोस्टको दिशा लिन नसक्दा नेपाल ३–० ले पराजित भयो।

योसँगै साफ फुटबलमा नेपालले माल्दिभ्सलाई सातौं प्रयासमा पनि हराउन सकेन। यसअघि भएका ६ खेलमा नेपाल जितबिहिन थियो। ७ मध्ये ५ खेलमा माल्दिभ्स विजयी भयो। 

नेपाल र माल्दिभ्सबीच समग्रमा साफ च्याम्पियनसिप, साग गेम्स, एएफसीका प्रतियोगिता र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरी कुल १६ प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ४ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ। ८ खेलमा भने नेपाल पराजित भएको छ। 

नेपालले माल्दिभ्सलाई सन् १९९९ देखि पराजित गर्न सकेको छैन। नेपालले पछिल्लो पटक सन् १९९९ को साग गेम्सको खेलमा माल्दिभ्सलाई २–१ गोलले हराएको थियो। त्यसपछि नेपालले १९ वर्ष माल्दिभ्सबिरुद्ध जित निकाल्न सकेको छैन।  

Source link