विराटनगर।आन्तरिक राजस्व कार्यालय बालाजुले रसुवा डिस्टिलरीलाई मदिरामा नक्कली स्टिकरको प्रयोग गरेबापत अन्तःशुल्कको २५ लाख रुपैयाँ जरीवाना गरेको छ ।
केही दिन अघि आन्तरिक राजस्व कार्यालय भैरहवाले नक्कली अन्तशुल्क स्टिकर सम्बन्धी मुद्दाको निर्णय गर्दै नक्कली स्टीकरसहित पक्राउ परेका ६ जनालाई १० करोड जरिवाना र कैदको फैसला गरेको थियो।
आन्तरिक राजस्व कार्यालय सिराहाको अनुसन्धान र ठहरबमोजिम बालाजुले रसुवा डिस्टिलरीलाई २५ लाख तिराएको हो ।
रसुवा डिस्टिलरीको मदिरामा नक्कली स्टिकर फेला परेको सात महिनापछि सिराहा कार्यालयले २५ लाख रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने ठहर गर्दै बालाजु कार्यालयलार्इ एक हप्ताअघि पत्राचार गरेको थियो । रसुवा डिस्टिलरीको करसम्बन्धी फाइल बालाजुमा भएका कारण अन्तःशुल्कको रकम सोही कार्यालयमा तिराइएको हो ।
बालाजुका प्रमुख इन्द्र देवकोटाले रसुवा डिस्टिलरीलाई अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेबापत २५ लाख रुपैयाँ तिराइएको पुष्टि गरे ।
प्रमुख देवकोटाका अनुसार मूल्य अभिवृद्धि करको निर्धारण हुन बाँकी छ । भ्याट निर्धारण गर्न लामो प्रक्रिया पुर्याउनुपर्ने भएकाले केही समय लाग्ने भएको हो।
नुवाकोटस्थित रसुवा डिस्टिलरीको मदिरा बोकेको गाडी गत चैतमा तराई क्षेत्र आउँदै गर्दा सिरहाकै लहान बजारमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाको अनुसन्धान गर्दै जाँदा यही गाडीमा २५ लाख मूल्य बराबरको मदिरामा प्रहरीले नक्कली स्टिकर फेला पारेको थियो ।
सिराहाका प्रमुख गोविन्द अधिकारीका अनुसार ७० युपीको मदिरामा लगाउनु पर्ने स्टिकर ५० युपीको मदिरामा लगाएको पाइएको थियो ।
दुर्घटनाग्रस्त ट्रकबाट ५० युपीको स्टिकर भएका १ सय ८० एमएलका १ हजार १ सय कार्टुन मदिरा बरामद गरिएको थियो ।
मदिरामा कम युपीको भए बढी र बढी युपीमा कम अन्तःशुल्क लाग्छ । ५० भन्दा ७० युपीका मदिरामा कम अन्तःशुल्क लाग्छ । जसअनुसार ७० युपीका मदिराको स्टिकर ५० युपीका मदिरामा प्रयोग गरिँदा अन्तःशुल्क छलेको ठहर्छ ।
दुर्घटनाग्रस्त गाडीबाट बरामद गरिएको बिलमा सो मदिरा नुवाकोटको एनके इन्टरनेशनलले मोरङको बेलबारीस्थित एक पसलमा पठाएको देखिएको थियो।
यसअघि प्रमुख अधिकारीले मदिरा उत्पादक रसुवा डिस्टिलरीसहित विक्रेता एनके इन्टरनेशनल दुबैलाई सजाय गरिने बताएका थिए ।
नक्कली स्टिकरको प्रयोगमा उत्पादक र विक्रेता दुबै कसुरदार ठहर्ने उल्लेख गर्दै अधिकारीले एनकेलाई पनि कारबाही गरिने स्पष्ट पारेका थिए । तर विक्रेता एनकेलाई हालसम्म कुनै कारबाही गरिएको छैन ।
आन्तरिक कार्यालय सिराहाका अधिकृत खगेन्द्र दाहालका अनुसार मदिरा बोकेको गाडीको धनीलाई २५ हजार जरिवाना गरिएको छ ।
‘त्यो भाडाको गाडी रहेछ, गाडीको धनीलाई जानकारी नदिई मालसामान बोकेको फेला पर्यो’, अधिकृत दाहालले भने, ‘त्यसैले कानुनअनुसार २५ हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडिएको हो ।’
अझै सकिएन सुमितको अनुसन्धान
नेपालमा उत्पादित मदिरामा टाँस्ने उद्देश्यले भारतबाट तस्करी गरी ल्याइएको नक्कली स्टिकरको ओसारपसारमा संलग्न सुमितचन्द्र देवको अनुसन्धान अझै नसकिएको सिराहा कार्यालयले जनाएको छ।
सिराहाका युवक सुमितबाट प्रहरीले गत चैत महिनामा ३० युपीको १ सय ८० एमएलका मदिरामा प्रयोग गरिने ३ सय ८५ थान नक्कली स्टिकर फेला पारेर लाहानमा बुझाएको थियो ।
सुमितले सिराहाको सीमान्त बजार ठाँडीको बाटो हुँदै अवैध पैठारी गरेको प्रहरीको दाबी छ । उनले उक्त स्टिकर भारतीय बजार लौकाहाबाट ल्याएको प्रहरीको जिकिर छ ।
राजस्व कार्यालयका अनुसार सुमितले ठाँडीको सीमावर्ती भारतीय बजार लौकाहाबाट उक्त स्टिकर ल्याएका थिए ।
सुमितले कार्यालयमा दिएको बयानमा लौकाहामा आफूलाई एक भारतीय नागरिकले लहानसम्म पुर्याइदिन आग्रह गरेको र लहानको अस्पतालअगाडि एक व्यक्तिले जिम्मा लिने बताएको उल्लेख गरेका छन् ।
लाहानका अधिकृत दाहालका अनुसार सुमितलाई धरौंटी र तारेखमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ ।
‘हामी निष्कर्षमा पुग्न लागेका छौँ’, उनले भने, ‘नक्कली स्टिकर कहाँबाट आउँदो रहेछ र कहाँ पुग्दो रहेछ भन्ने अनुसन्धान गर्नुपर्ने हुँदा समय लागेको हो । केही समयमै ठहर आउने छ ।’
नक्कली स्टिकर काण्डमा रसुवा डिस्टिलरीले अन्तःशुल्क बापतको २५ लाख जरीवाना तिर्यो, सुमित बाँकी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।