मेसीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित :: PahiloPost

321

कप्तान लियोनल मेसीले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिग २०१८-१९ को सिजनमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ।

दोस्रो हाफमा १० खेलाडीमा झरेको स्पानिस क्लब बार्सिलोनाले समूह बी को खेलमा डच क्लब पिएसभी आइन्होभनलाई ४-० ले हरायो। बार्सिलोनाको जितमा मेसीले ह्याट्रिक गर्दा उसमान डेम्बेलेले एक गोल गरे।

खेलको ३१औँ मिनेटमा मेसीको फ्रिकिक गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। ७५औँ मिनेटमा डेम्बेले र ७७औँ मिनेटमा मेसीले गोल गर्दै बार्सालाई ३-० को अग्रता दिलाए। ७९औँ मिनेटमा सामुएल उम्टिटि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना दश खेलाडीमा झरेको थियो। तर त्यसले बार्सिलोनालाई फरक पारेन। 
घरेलु मैदानमा मेसीले ८८औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे।

च्याम्पियन्स लिगमा मेसीको यो आठौँ ह्याट्रिक हो  र मेसी सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी समेत बनेका छन्।

यस्तै समूह बी कै अर्को खेलमा इन्टर मिलानले एक गोलले पछि परेको अवस्था उल्टाउदै टोटनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ।

क्रिस्टियन एरिक्सनले ५३औँ मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए। तर घरेलु मैदानमा अन्तिम समयमा दुई गोल पर्काउँदै इन्टरले पुनरागमन जित हात पार्‍यो।

इन्टरका लागि ८८औँ मिनेटमा माउरो इकार्ड र इन्जुरी टाइममा माटिओ भेसिनोले गोल गर्दै ३ अंक दिलाए।
 

Source link