काठमाडौं– एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एसोसिएट राष्ट्र हङकङले भारतविरुद्ध बाहदुरी प्रदर्शन गरेको छ। मंगलबार राति सकिएको खेलमा २६ रनले पराजित भएपनि हङकङले अन्तिमसम्म भारतविरुद्ध प्रतिस्पर्धात्मक खेल पस्केको थियो।
पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८५ रन जोडेको थियो। २ सय ८६ लक्ष्य पछ्याएको हङकङले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५९ रन जोड्यो।
हङकङका लागि ओपनर निजाकत खानले ९२ रन र अंशुमान रथले ७३ रन जोडे। खानले १ सय १५ बलमा १२ चौका र १ छक्का हिर्काएका भने रथले ९७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। दुईबीच पहिलो विकेटका लागि १ सय ७४ रनको साझेदारी भएको थियो। बाबर हायातले १८ र इसान खानले २२ रन जोडे। अन्य ब्याट्सम्यमानले उल्लेख्न रन जोड्न नसक्दा हङकङको ओपनिङ जोडीको मिहिनेत खेर गयो।
बलिङमा भारतका खलिल अमहेद र युजभेन्द्र चाहलले ३–३ विकेट लिए। कुलदीप यादवले २ विकेट हात पारे।
त्यसअघि भारतका लागि शिखर धवनले १ सय २७ रनको योगदान गरे। ओपनर रोहित शर्मा २३ रनमा आउट हुदा अम्बाती रायादुले ६० रन र दिनेश कार्तिकले ३३ रन बनाए। महेन्द्रसिंह धोनी भने ३ बल खेल्दा रन जोड्न नपाइ आउट भए। केदार जादवले नटआउट २८ रन जोडे। बलिङमा हङकङका किन्चित साहले ३ विकेट र इशान खानले २ विकेट लिए।
हारसँगै हङकङ बाहिरिएको छ भने समूह ए बाट भारत र पाकिस्तान १–१ खेल जित्दै सुपर ४ मा पुगेका छन्।