संविधान दिवसमा रक्त क्यान्सर पीडित वालकलाई काव्यको २५ हजार

318

काठमाडौं । संविधान दिवस २०७५ को अवसरमा नयाँबानेश्वरस्थित काव्य स्कुलले विद्यार्थीलाई सहभागी गराई संविधान दिवस मात्रै मनाएन ,रक्तक्यान्सर पीडित खोटांगका ८ वर्षिय वालक हिमाल पाण्डेको उपचारका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेको छ ।


काव्य स्कुलका विद्यार्थीबाट उनीहरुको जन्मदिनमा संकलित जन्मदिन कोष, विष्णु बास्कोटा फाउण्डेशन एवम् काव्य स्कुलको सहयोगमा विरामी वालक पाण्डेलाई सो रकम प्रदान गरिएको हो ।
काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा सो विद्यालयका विद्यार्थी एवम् वालनायक अनुभव रेग्मीले २५ हजार रुपैयाँ विरामी वालक हिमाललाई हस्तान्तरण गरेका थिए । पत्रकार एवम् स्काउट गुरु बलराम प्यासीको पहलमा हस्तान्तरण गरिएको उपचार रकम हस्तान्तरण कार्यक्रममा संस्थापक निर्देशकहरु सुनिलकुमार घर्ती तथा रिजन खड्का तथा विरामी वालकका बुबा डिल्लीराम र शिक्षक फुपाजु पशल कट्टेलको पनि उपस्थिति थियो ।


रावाँवेशी गाउँपालिका ४ ठुम्रे, धारापानी खोटांग निवासी डिल्लीराम तथा ज्ञानकुमारी पाण्डेका छोरा हिमाल गतवर्षदेखि रक्त क्यान्सर भई कान्ति वाल अस्पतालमा उपचार गराईराखेका छन् । वालक हिमाल रक्तक्यान्सरको एएलएल अर्थात दोस्रो चरणको क्यान्सरको उपचार गराईराखेका छन् ।
कार्यक्रममा गणतन्त्र नेपालको संविधा, यसका धारा, उपधारामा उल्लेख गरिएका वुँदा र विशेषताबारे संस्थापक प्रिन्सिपल बास्कोटा, सामाजिक अध्ययन विषयका शिक्षक गणेशकुमार दाहाल तथा शिक्षक दिलिप लामा तथा विद्यार्थीहरु रोम भट्ट, सृष्टि लामिछाने, आभाश कुँइकेललगायतले बोलेका थिए ।