६ महिने बालकको एसिड खन्याएर हत्या, अभियोगमा बालककै काकी प्रहरी नियन्त्रणमा :: PahiloPost

347

अछामः अछामको तुर्माखाँद गाउँपालिका ४ मा ६ महिने बालकको एसिड खन्याएर हत्या गरिएको छ।

स्थानीय गंगा बयक र महाबीर बयकका नाबालक छोरा मुस्कानको उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ।

गत मंगलबार बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किँदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्य चौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याइएको थियो। मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकीविरुद्ध तेजाब खन्याई कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आरोपित महिलाले बालकलाई सो कसुर स्वीकार गरिसकेकी र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।रासस

Source link