काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं ८ छैमले चोबुस्थित श्रीकृष्ण माविको नवनिर्मित ४ कोठे पक्की भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
२०७२ सालको महाभूकम्पमा क्षति भएको पुरानो भवनको ठाउँमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई समिति (शिक्षा) को ६४ लाख ७० हजार रुपैयाँको लागतमा सो नयाँ भवन बनेको हो ।
गतवर्षको पुसबाट निर्माण शुरु गरिएको सो भवन २०७५ को बैशाखमा तयार भएको विद्यालयका प्रधानाध्यापक अमृतमान श्रेष्ठले बताए । विद्यालयमा २ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
नवनिर्मित विद्यालय भवन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले उद्घाटन गरे भने जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) का प्रमुख अर्जुनबहादुर रायमाझिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर ल्हो तामांग र प्रधानाध्यापक अमृतमान श्रेष्ठलाई एक समारोहका वीच हस्तान्तरण गरे ।
त्यसअवसरमा नगरप्रमुख बस्नेत, इकाई प्रमुख रायमाझि, प्रधानाध्यापक श्रेष्ठ वडाध्यक्ष राजकुमार लामा लगायतका वक्ताले नवनिर्मित सुविधासम्पन्नन पक्की भवनका कारण विद्यार्थीहरुको पठनपाठनको वातावरणलाई सहज र उत्साहित बनाउने बताए ।
विद्यालय हस्तान्तरण समारोहमा सो विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।