काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का सदस्य तथा उनीहरुका परिवारका सदस्यलाई विशेष प्राथमिक तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्वनधमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ र नर्भिक अस्पतालवीचसहमति पत्रमा हस्ताक्षर भएको छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर चिन्तामणि भट्टराई र नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले मंगलबार उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सहमतिअनुसार नर्भिक अस्पतालले रोटरी इन्टरनेशनलका सम्पूर्ण रोटरियनहरू तथा उनीहरुका परिवारका सदस्यहरुलाई प्राथमिकता सहितको निदानात्मक, निरोधात्मक, रोकथाममूलक र उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ ।
ललितपुरमा आयोजित रोटरीयनहरूको इन्टरसिटी बैठकमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । इन्टरसिटी बैठक तथा सहमति पत्र हस्ताक्षर समारोहलाई रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भुले आयोजना गरेका थिए । उक्त बैठकमा रोटरी क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, अध्यक्षहरू, विशिष्ट पदाधिकारीहरू र नर्भिकको मेडिकल अन्कोलोजी विभागका चिकित्सकहरू सहभागी थिए ।
रोटरी क्लब दरबारमार्गका चार्टर्ड प्रेसिडेन्ट तथा नर्भिक मेडिकल अन्कोलोजी विभागका प्रमुख प्रा.डा राजेन्द्र प्रसाद बरालले सो समारोहमा अर्वुदरोग (क्यान्सर) र जटिलताहरू, रोकथामका उपायबारे आफ्नो मन्तव्य दिएका थिए भने नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा.डा अचला वैद्यले नेपालमा महिलाहरूमा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर र योनीको मुखको क्यान्सर र तिनलाई समयमै निदान गराउँदाका फाइदाहरू आदि बारे प्रस्तुति दिएकी थिइन ।
रोटरीयन डा.निरज श्रेष्ठले रजोनिवृत महिलाहरूमा देखापर्ने हाडजोर्नी समस्या लगायत ओस्टियोपोरोसिसको निदानात्मक, उपचारात्मक एवम रोकथामका उपायहरू बारे व्याख्या गरेका थिए ।
सहमतिअनुसार आ–आफ्ना सामाजिक उत्तरदायित्व अन्तर्गत नर्भिक र रोटरी इन्टरनेशनलको संयुक्त तत्वावधानमा देशका विभिन्न भागमा विशेष स्वास्थ्य शिविर गर्दै लगिने र समाजलाई सेवा पु¥याउँदै लगिने सहमति भएको अस्पतालका संस्थागत सञ्चार विभागका नायव महाप्रवन्धक आरपि मैनालीले बताए ।