वाइडबडी खरिदमा अनियमितताको प्रश्न उठिरहेका बेला एयरबसका अधिकारी आउँदै, मन्त्रीसँग छलफल :: BIZMANDU

386


काठमाडौं। वाइडबडी जहाज खरिदका विषयमा प्रश्न उठिरहेका बेला नेपाललाई जहाज बेच्ने युरोपेली कम्पनी एयरबसका उच्च अधिकारी नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल वायुसेवा निगमले असार र साउनमा भित्र्याएको जहाज खरिदका विषयमा संसदीय समितिले समेत छलफल थालिसकेको अवस्थामा एयरबसका प्रतिनिधि नै नेपाल आउन लागेका हुन्। 

फ्रान्सेली कम्पनी एयरबसले हालै दुईवटा वाइडबडी जहाज नेपाललाई बेचेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित उच्च सरकारी अधिकारीलाई भेट्न एयरबसको टोली नेपाल आउन लागेको हो। टोली बुधबार नेपाल आइपुग्नेछ। 

कम्पनीका उच्च अधिकारीसहितको टोली नेपाल आउन लागेको हो। नेपालमा कुन उद्देश्यले आउन लागेको र के विषयमा छलफल हुने भन्ने यकिन हुन सकेको छैन। ‘नेपाल आउन लागेको टोलीले विहीबार मध्यान्न १२ बजे मन्त्री अधिकारीसँग भेट्दैछ,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर के विषयमा छलफल हुन लागेको भन्ने अहिलेसम्म बाहिर आएको छैन।’ 

मन्त्रालयका एक अधिकारीका अनुसार एयरबससँग खरिद गरेको विमानका विषयमा उनीहरुले नेपालमा छलफल गर्न खोजेका हुन्। जहाज खरिद प्रक्रियाका विषयमा नेपालको संसदीय समितिमा समेत प्रश्न उठ्न थालेपछि एयरबसका अधिकारीहरु नै नेपाल आउन लागेका छन्। 

मन्त्री अधिकारीसँगको भेटअघि एयरबसका उच्च अधिकारीको टोलीले विहीबार विहान ११ बजे नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीसँग छलफल गर्दैछ। नेपाल आउनु अघि प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र कम्पनीका प्रतिनिधिबीच ‘कर्टेसी कल’ मात्रै भएको स्रोतको दावी छ। 

‘नियमनकारी निकायका हिसाबले उहाँहरुले नेपालमा रहँदा प्राधिकरणका प्रतिनिधिसँग भेट गर्न खोजेका हुन्, उनीहरुको भ्रमणको अरु उद्देश्य भने हामीलाई थाहा हुन सकेको छैन,’ स्रोतले भन्यो, ‘नेपाल वायुसेवा निगमले खरिद गरेको जहाज र त्यसका अपरेसनका विषयमा छलफल हुन सक्छ।’ 




वाइडबडी खरिदमा अनियमितताको प्रश्न उठिरहेका बेला एयरबसका अधिकारी आउँदै, मन्त्रीसँग छलफल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link