
काठमाडौं। अमेरिकी बहुराष्ट्रिय कम्पनी पेप्सीकोले उत्पादन गर्ने कुरकुरे ब्राण्ड नेपालीको हुने की पेप्सीकोको हुने भन्ने मुद्दा सर्वोच्च अदालतले उद्योग विभागमा फिर्ता पठाइदिएको छ।
२०६४ देखि नेपालमा कुरकुरे उत्पादन गर्ने दुगड स्पाइसेस एण्ड फुड्स र अमेरिकी कम्पनी पेप्सीको बीच मुद्दा चलिरहेको छ। दुगड ग्रुपले २०६३ सालमा कुरकुरे नामको ट्रेडमार्क दर्ता गरेको थियो।
भारतमा २०५५ सालदेखि नै उत्पादन सुरु भएको कुरकुरे केहि वर्षमै नेपाल भित्रिएको थियो। निकै लामो समयदेखि नेपालमा विक्रि हुँदै आएको पेप्सीकोले भने २०६४ सालमा मात्रै ट्रेडमार्कको लागि विभागमा निवेदन दिएको थियो। त्यसपछि कुरकुरे नेपालीको हुने की पेप्सीकोको हुने भन्ने मुद्दा चलिरहेको छ।
उद्योग विभागमा ११ वर्षदेखि विचाराधिन रहेको कुरकुरेको मुद्दा पाटन उच्च अदालत हुँदै एक वर्ष अघि सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्चले भने पहिले उद्योग विभागले फैसला गर्नुपर्ने भन्दै विभागमा फिर्ता पठाइदिएको छ।
सर्वोच्च अदालतले कुरकुरेको मुद्दा उद्योग विभागससँग सम्बन्धित भएकोले पहिले विभागले नै फैसला गर्नुपर्ने भन्दै मुद्दा फिर्ता पठाएको ग्लोबल ल एसोसिएटसका सञ्चालक जनकराज भण्डारीले जानकारी दिए।
गत वर्ष मंसिर १ गते पाटन उच्च अदालतले कुरकुरे ब्राण्ड नेपाली उत्पादक दुगड ग्रुपको भएको भन्दै विदेशी कुरकुरे आयातमा रोक लगाउन अन्तरिम आदेश दिएको थियो। तर दुवै पक्षका वकिलको बहस सुनेपछि भने अदालतले विदेशबाट आयात हुने कुरकुरेमा रोक लगाउने अन्तरिम आदेशलाई निरन्तराता दिन नपर्ने फैसला गरेको थियो।
मुद्दा लम्बियो, बहुराष्ट्रिय कम्पनीका ट्रेडमार्क जोखिममा
सर्वोच्चबाट उद्योग विभागमा मुद्दा फिर्ता भएसँगै कुरकुरे कसको आधिकारिक ब्राण्ड हो भन्ने फैसला हुन अझै समय लाग्ने भएको छ।
११ वर्षसम्म मुद्दाको फैसला नगरेको विभागले फैसला गरेपछि चित्त नबुझेको एक पक्ष पुन उच्च अदालत जाने पक्का छ। उच्च अदालतको निर्णयममा पनि चित्त नबुझे पुनः सर्वोच्च अदालत पुग्नुपर्छ। यी सबै कानुनी झन्झटले कम्तिमा दुई वर्षभन्दा बढी समय लिने भण्डारी बताउँछन्।
मुद्दाको फैसला नभएसम्म दुवै कुरकुरे नेपाली बजारमा बिक्रि वितरण हुने छन्। मुद्दाको अन्तिम फैसला भएपछि भने कुनै एक ब्राण्डको विक्रि वितरण बन्द हुने छ।
नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानुन संसोधन नहुँदा बहुराष्ट्रिय कम्पनीले आफ्नो ट्रेडमार्क गुमाउँदै गएका छन्। पहिला आउनेले नै ट्रेडमार्क पाउने कानुनका कारण बहुराष्ट्रिय कम्पनीका ट्रेडमार्क जोखिममा परेका हुन्।
जापानी ब्राण्ड कन्साइ नेरोल्याकले आफ्नो आधिकारिक ट्रेडमार्क गुमाइसकेको छ। उसले केएनपी नामक ट्रेडमार्क लिएर नेपालमा पेन्टस उत्पादन गरिरहेको छ।
पछिल्लो समय उद्योग विभागमा फेसबुक, गुगल, एप्पलदेखि सुप्रशिद्ध बहुराष्ट्रिय कम्पनीले पनि ट्रेडमार्क दावी विरोधको मुद्दा लडिरहेका छन्।
पेरिस महासन्धीको पक्ष मुलुक भएपनि बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क रक्षा गर्ने कानुन नेपालमा नबनेकाले अहिले सबैजसो बहुराष्ट्रिय कम्पनीले आफ्नो ट्रेडमार्क दर्ता गर्न निवेदन दिएका छन्।
कुरकुरे नेपालीको हो कि विदेशीको? सर्वोच्चमा पुगेको मुद्दा ११ बर्षपछि फेरि विभागमा फिर्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































