नेपालका विद्यालय सुरक्षित छैनन्

488

भक्तपुर । नेपालका विद्यालय अझै पनि सुरक्षित नभएको सरोकारवालाहरुले बताएका छन् ।

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा भक्तपुरमा आयोजित स्थानीय तहमा उत्थानशीलताका लागि लगानी विषयक अन्तक्र्रिया कार्यक्रममा सारोकारवालाहरुले नेपालका विद्यालयहरु सुरक्षित नभएको बताएका हुन् ।

सामुदायिक विद्यालय ब्यवस्थापन समिति महांसंघ नेपालको संयोजकत्वमा ,जिल्ला शिक्षा समन्वय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा विपदको लागि पूर्व तयारीको अभावले नेपालका विद्यालयहरु अझै पनि जोखिममा रहेको बताएका हुन् ।
कार्यक्रममा जिल्ला रेडक्रस सोसाईटीका प्रमुख मनोज कुमार थापाले विपद ब्यवस्थापनमा रणनीतिगत योजना आवश्यक भएको बताए ।

उनले यदि अवको दिनमा पनि विपद ब्यवस्थापनमा रणनीतिक योजना बनाउन नसकेको खण्डमा भावी दिनमा यसले अझ विकराल रुप लिने र क्षती बढ्ने बताए ।

उनले विद्यालयमा विपद ब्यवस्थापन एवं न्यूनिकरणको लागि विद्यार्थीहरुमा यसको विषयमा विद्यालय पाठ्य पुस्तकमा नै उल्लेख गर्नु पर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख हरिप्रसाद दाहलले विपद आउनु भन्दा अघि नै यसको विषयमा विद्यार्थी तह देखि नै जान्नु आवश्यक भएको बताए ।

उनले आफ्नो घर मात्र वलियो भएर नहुने आफ्ना नानीहरु पढ्ने विद्यालय तथा उनीहर विद्यालय जाने मार्गको विषयमा पनि आभिभावकले सोच्नु पर्ने उनको धारण रहेको थियो ।

यस्तै रेडक्रस भक्तपुरका मन्त्री पर्शुराम पाण्डेले विपदको स्वागत विकासले नै गरेको बताए । विकासमा एक निश्चित रणनीतिक योजना, अध्ययन, अवलोकन एवं पूर्व तयारी विना जथाभावी रुपमा चलाईँदा विकासले अझ विपदलाई स्वागत गरेको उनको भनाई थियो ।

यसको नियन्त्रणको लागि भावी दिनमा रणनीतिक योजना तथा दिगो विकासको सोचको पनि आवश्यकता भएको उनको भनाई थियो ।
सुरक्षित विद्यालय अभियानका अभियन्ता सामुदायिक विद्यालय ब्यवस्थापन समिति महांसंघ नेपालका श्याम लामाले अव विपद व्यवस्थापनमा विद्यालयलाई प्रमुख रुपमा लिनु पर्ने बताए ।

उनले विद्यालयमा विपद पूर्व तयारीका विषयमा कक्षा संचालन गर्दै उनीहरुलाई विपदमा लड्न सिकाउनु पर्ने तथा विद्यालयमा विपद न्यूनिकरणका लागि आवश्यक पूर्व तयारी सामग्रीको ब्यवस्था गर्नु पर्ने वताए ।

विद्यालय सुरक्षित रहे मात्र भविश्यका कर्णधार पनि सुरक्षित रहन सक्ने बताउँदै विद्यालय साथ साथै समुदाय कसरी विपदबाट सुरक्षित गर्ने भन्ने विषयमा विद्यार्थी र अभिभावकलाई जागरुक गराउनु जरुरी रहेको सामुदायिक विद्यालय ब्यवस्थापन प्रदेश नम्वर ३ का सचिव संगम लामाले बताए ।

उनले विद्यालय शिक्षामा विपद आएपछि कसरी सुरक्षित हुने भन्ने विषयमा पनि पठन पाठन गराउनु पर्ने बताए । हाल विपदको विषयमा विद्यालयमा कुरा गर्न गयो भने आफ्ना विद्यार्थीको पढाई विग्रने भन्दै विभिन्न वहाना गर्ने विद्यालयहरुको सम्वन्धमा अभिभावक आफैले पनि सोच्नु पर्ने उनले बताए ।
नेपालमा भएका कुनै पनि विद्यालय सुरक्षित नभएको निश्कर्ष निकाल्दै कार्यक्रममा अवको दिनमा कसरी विद्यालय सुरक्षित बनाउने भन्ने विषयमा सम्पूर्ण सरोकारवालाहरुले सोच्नु पर्ने समय आएको सहभागीहरुले बताए ।
यस्तै आज नै भक्तपुर बाहेक प्रदेश नम्वर तीनका हरेक जिल्लामा र प्रदेश नम्वर १ र २ मा पनि सामुदायिक विद्यालय ब्यवस्थापन समिति महांसंघ नेपालका तत्वाधावनमा स्थानीय तहमा उत्थानशीलताका लागि लगानी विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।