रंगशाला विराेधमा सिपाडाेलबासी सडकमा

639

भक्तपुर । चाँगुनारायण नपा वडा नं ९ र सूर्यविनायक नपा वडा नं ९ र १० का स्थानीय किसान र जनताको व्यापक विरोधपछि सूर्यविनायक नपा वडा नं ८ र ९ को तेडोलमा ‘अन्तर्राष्ट्रिय रङ्गशाला’ बनाउने युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावप्रति त्यहाँका जनता तथा किसानहरूले विरोध गरेका छन् ।

उनीहरूले प्रस्तावित रङ्गशाला सो स्थानमा राख्न नदिने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने भएका छन् ।
आइतबार स्थानीय सिपाडोल र नङ्खेलका किसानहरूले नन्दिकेशर महादेवस्थानमा भेला भई सूर्यविनायक नगरपालिका वडा नं. ८ र ९ को कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपत्यका विकास प्राधिकरण भक्तपुरमा प्रस्तावित रङ्गशालाको विरोधमा गरिएको हस्ताक्षर सङ्कलनसहित आइतबार विरोधपत्र बुझाएका छन् ।

विरोधपत्र बुझाउन जाने क्रममा सयौं सर्वसाधारण सहभागी जुलुसमा ‘रङ्गशाला चाहिंदैन, खेतीयोग्य जमिन म्हास्न पाइँदैन’, ‘किसानमारा प्रस्ताव मुर्दावाद’, ‘पीडित किसान एक होऔं’ ‘विकासको नाउँमा विनास चाहिँदैन’ आदि नारा लगाइएका थिए ।

विरोधपत्र बुझाउनु अघि भएको सभामा सङ्घर्ष समितिका संयोजक हरिकृष्ण दनेगुलूले भक्तपुर जिल्लामा रङ्गशालाको सट्टा खेतीयोग्य जग्गा जमिनलाई आधुनिक कृषि क्षेत्र निर्माण गर्ने गरी स्मार्ट कृषि क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो

रङ्गशाला बनाउने नाममा जनतालाई विस्थापित गर्ने षड्यन्त्र रचेको स्पष्ट पार्दै उहाँले अन्तर्राष्ट्रिय रङ्गशाला काठमाडौं उपत्यका बाहिर बनाई विकासलाई विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।