कोरियामा कार्यरत विदेशी श्रमिकले तोकिएको मितिमा तलब नपाए कम्पनी परिवर्तनको उजुरी गर्न पाउने

345

दक्षिण कोरिया– अब कोरियामा कार्यरत विदेशी श्रमिकले तोकिएको मितिमा पारिश्रमिक नपाएमा कामदारले कम्पनी परिवर्तनका लागि उजुरी गर्न पाउने भएका छन्। हालै परिवर्तित नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको प्रवासी मजदुर युनियनका महासचिव मधुसुदन ओझाले जानकारी दिए।

‘यसअघि तोकिएको मितिमा तलब नपाएपनि कम्पनी परिवर्तन गर्नका लागि साहुको अनुमति लिनुपर्दथ्यो, अब परिवर्तित नियमानुसार तलब नपाएको उजुरी नोदोङ्बु (श्रम कार्यालय)मा दिएमा र प्रमाणित भएमा श्रमिकले अर्को काम परिवर्तन गर्न पाउनेगरी कानुन पारित भएको छ, ’ ओझाले भने।

यसअघि कोरियामा कार्यरत विदेशी महिला कामदारले आफूमाथि यौन दुर्व्यवहार भएमा उजुरीपश्चात् स्वेच्छाले काम परिवर्तन गर्न पाउने नियम लागू भइसकेको छ।

यसका साथै रातिको समयमा १० बजेदेखि बिहान ६ बजेसम्म काम गर्दा पाउँदै आएको ‘रात्रिकालीन भत्ता’ पनि दिनको भन्दा २ सय प्रतिशतबाट बढेर २ सय ५० प्रतिशत पाउनेगरी कानुनमा परिवर्तन भएको उनले बताए।

भत्ताको विषयमा ५ वा सोभन्दा कम कामदार भएको कम्पनीमा भने पहिलेकै नियमानुसार हुने ओझाले प्रष्ट पारे। उनले कामदारको तलबभत्ताको सम्बन्धमा मजदुर युनियनले लगातार माग गर्दै आएको र हाल आएर मात्र माग पुरा भएको भन्दै वर्क पर्मिट सिस्टम (डब्लुपियस) पनि छिट्टै लागू हुनेमा आफुहरु विश्वस्त रहेको बताए।