गरिब देशमा तीव्र गतिमा धर्म परिवर्तन नेपाल पनि यसको सिकार
सेन्टर फर द स्टडी अफ ग्लोबल क्रिस्चियानिटीका अनुसार सन् १९७० मा विश्वभर २ लाख ४० हजार क्रिस्चियन धर्म प्रचारक थिए । सन् २००० मा यो संख्या ४ लाख ४० हजार पुग्यो । अहिले उनीहरूको संख्या दशौँ लाख छ ।
तेस्रो विश्वका मुलुकहरू खासगरी इथियोपिया, सुडान, केन्या, ब्राजिल, भारत, फिलिपिन्स, मेक्सिको र नेपालमा धर्म प्रचार अभियानकै रूपमा सञ्चालित छ । धर्म प्रचारका लागि मात्रै वार्षिक एक खर्ब ४५ अर्ब अमेरिकी डलर अर्थात् १६६ खर्ब रुपैयाँ अर्थात् नेपालको बजेटको ११ गुणा खर्च हुँदै आएको छ ।
मलेसियाको सबैभन्दा पुरानो पत्रिका न्यु स्ट्रेइट्स टाइम्सले डिसेम्बर २३, २०१७ मा प्रकाशित गरेको एक रिपोर्टले सो समय नेपालमा क्रिस्चियनको संख्या ३० लाख पुगेको दाबी गरेको थियो । त्यस्तै, बेलायतको पत्रिका द गार्जियन लेख्छ, ‘नेपालका विपन्न जनतालाई आर्थिक राहतसँगै बाइबल पनि वितरण गरिएको गुनासो छ ।’
देशभर करिब १२ हजार चर्च, ३० लाख क्रिस्चियन धर्मावलम्बी
-गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे ४ हजार चर्च छन् । यो संख्या २०७० सालमा गृहले अनौपचारिक रूपमा लिएको हो । देशैभरि करिब १२ हजार चर्च भएको अनुमान छ ।
-नेपाल राष्ट्रिय क्रिस्चियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालमा करिब १२ हजार ५ सय चर्च रहेको बताए । तर, त्यसको आधिकारिक तथ्यांक भने छैन । नेपालको जनगणना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिस्चियन धर्मावलम्बी छन् । सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिस्चियन बनाउने लक्ष्यका साथ प्रचार–प्रसार भइरहेको छ ।
-आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिस्चियन भइसकेको दाबी सो धर्मआबद्ध संस्थाहरूको छ । विश्वमा तीव्र गतिमा क्रिस्चियन धर्मावलम्बीको वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा छ । अध्ययनअनुसार नेपालमा वार्षिक औसत वृद्धिदर १०.२२ प्रतिशत छ । अफ्रिकन देशहरूमा अझ तीव्र प्रचार भइरहेको छ ।
नेपालमा आठ सम्प्रदायका क्रिस्चियन
नेपालमा सबैभन्दा बढी प्रोटेस्टेन्ट समुदायका क्रिस्चियन छन् । क्रिस्चियन धर्मका पास्टर अधिवक्ता बुद्ध घिसिङका अनुसार मूलधारका क्रिस्चियनमा क्याथोलिक र प्रोटेस्टेन्ट हुन् ।
सियोन, याहोवा साक्षी, ओन्ली जिजस, चर्च अफ क्राइस्ट, सेभेन्थ डे र मुन सम्प्रदायका क्रिस्चियन छन् । तर, क्याथोलिक र प्रोटेस्टेन्टले अन्य ६ समुदायलाई ‘झुटा’ भन्ने गरेका छन् ।
माधव नेपालको कोसिस, ‘जिससपुत्री’को आशिष
– क्रिस्चियनहरूको देश अमेरिकामा १८ महिना जेलसजाय पाएका,
-जासुसीको आरोपमा उत्तर कोरियामा पाँच वर्ष जेल बसेका,
– धर्मलाई दुरुपयोग गरेको आरोपमा बेलायत र जापान प्रवेशमा प्रतिबन्धित
-मुनको संस्थाले नेपालमा भने सिंगो राज्यलाई नै सक्रिय बनाएर भव्य धर्मसभा गर्यो, किनकि पृष्ठभूमिमा थिए सत्तारुढ दलका शीर्षनेता माधव नेपाल
विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ । पृष्ठभूमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो ।
नेकपा नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिनाअघि नै भएको हो । उनकै पहलमा युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटेका हुन् ।
कार्यक्रमलाई सुनिश्चित बनाउन फेडेरेसन प्रेसिडिङ काउन्सिलका सदस्य तथा फिलिपिन्सका पूर्वसभामुख होसे डे भेनेसिया ६ महिनाअघि नेपाल आएका थिए । माधव नेपालमार्फत भेनेसियाले नेपालको उच्च राजनीतिक नेतृत्वलाई भेटेका थिए ।
फेडेरेसनमार्फत माधव नेपालले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग पनि बलियो सम्बन्ध बनाएका छन् । सन् १९८५ देखि निरन्तर सत्तामा रहेका हुन सेनले गत जुलाईमा प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाएर निर्वाचन गराएका थिए । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संघसंस्थाहरूले मान्यता नदिएको सो निर्वाचनमा नेपालबाट पर्यवेक्षकको रूपमा माधव नेपाल गएका थिए । विपक्षीलाई धपाएर गरिएको निर्वाचनमा हुन सेनले ८० प्रतिशत मत ल्याएका थिए । माधव नेपालले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भएको प्रतिक्रिया पनि दिएका थिए । त्यही सम्बन्ध बलियो हुँदा हुन सेन एसिया प्यासिफिक समिटमा पनि आएका हुन् ।
सरकारलाई सहभागी गराएर धार्मिक कार्यक्रम गर्ने प्रयास ६ वर्ष अघिदेखि नै भएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा ढकाल सहकारी तथा गरिबी निवारणमन्त्री थिए । स्रोतका अनुसार फेडेरेसन आयोजक र सरकार सहआयोजक हुने प्रस्ताव ढकालको थियो । तर, तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गम्भीर विरोध गरेपछि प्रस्ताव पास भएको थिएन ।
सरकारको सहआयोजनामा सम्मेलन गर्ने प्रयास असफल भए पनि ढकालले होटेल याक एन्ड यतीमा ‘इन्टरनेसलन लिडरसिप कन्फ्रेन्स’ भने गरेका थिए । एसिया प्यासिफिक सम्मेलन २०१८ का प्रेस संयोजक विष्णु निश्चलका अनुसार नेपालमा सन् २०१०, सन् २०१२ र सन् २०१६ मा ‘इन्टरनेसनल लिडरसिप कन्फ्रेन्स’ भएका छन् । तर, अहिलेको जस्तो ठूलो कार्यक्रम पहिलोपटक भएको हो ।
राजनीतिक पहुँच प्रयोग गरेपछि सरकार सहआयोजक बन्ने निर्णय भएको हो । छलफलमा सत्तारुढ दल मात्र होइन, कांग्रेस पनि सहभागी भएको ढकालको दाबी छ । ‘सम्मेलन आयोजना गर्ने समय र मिति तय गर्न ६ महिनाअघि भेनेसियासहित भारत, चीन र फिलिपिन्सलगायत ७ राष्ट्रका प्रतिनिधि आएका थिए,’ कार्यक्रमकै बीचमा ढकालले भनेका थिए, ‘त्यतिवेला सम्मेलन तयारी समितिमा कांग्रेसबाट सुजाता कोइराला र चित्रलेखा यादव, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारी पनि हुनुहुन्थ्यो । पटकपटकको बैठकमा सहभागी हुनुभएको थियो । ६ महिनाअघि र्याडिसनमा भेनेसियासँगको छलफलपछि सरकार सहआयोजक बनेर सम्मेलन गर्ने निर्णय भएको हो ।’
चर्चका संस्थापकले आयोजना गरेको कार्यक्रममा सरकारलाई पनि सहआयोजक बनाउने तयारी थियो । तर, जनस्तरबाट विरोध भएपछि सरकारले सहआयोजकबाट नाम फिर्ता लियो, तर ५५ लाख सहयोग गर्यो । इसाई धर्मको सामूहिक आशीर्वाद कार्यक्रममा प्रधानमन्त्री पनि सहभागी हुने कार्यक्रम थियो । तर, विरोधपछि प्रधानमन्त्री आशीर्वाद लिने कार्यक्रममा सहभागी भएनन् । तर, विरोधलाई वास्ता नगरी कार्यक्रममा सहभागी भएर नेता नेपालले होलीवाइन चाखेर कथित जिससकी छोरी हाक जा हान मुनबाट आशीर्वाद लिए । मुनले आफ्नो भाषणमा भनेकी थिइन्, ‘म जिससकी छोरी हुँ । ममार्पmत आशीर्वाद लिएन भने कुनै पनि क्रिस्चियन र कुनै पनि मानव ईश्वरको भक्त हुन सक्दैन । मेरो आशीर्वाद लिनेले ठाउँठाउँमा गएर यो धर्मको प्रचार गर्नुहुनेछ । किनकि, आशीर्वाद एकअर्कालाई बाँड्नुपर्छ ।’
माधव नेपाल र सरकारमार्फत फेडेरेसनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि निमन्त्रणा गरेको हो । त्यसैले उद्देश्यबारे स्पष्ट जानकारीविना जनप्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए ।
विवादित पात्र थिए मुन
युनिभर्सल पिस फेडेरेसनका संस्थापक हुन्, सन म्युङ मुन । युनिफिकेसन चर्चको संस्थापकका रूपमा उनी जति चर्चामा थिए, त्यति नै विवादित पनि । होटेल, सञ्चारमाध्यमदेखि साना हतियार उत्पादन कम्पनीसम्ममा उनले लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यिनै व्यवसायबाट आर्जित सम्पत्ति प्रयोग गरेर उनले आफू र आफ्नी श्रीमती हाक जा हान मुनलाई जिससले पठाएको ‘सच्चा पिता’ भन्दै प्रचार गरे । सन् २०१२ मा उनको निधनपछि श्रीमती हाक, जेठो छारो ह्युन जान प्रेस्टोन र कान्छो छोरा ह्युन जान सिन मुनले आफूलाई उत्तराधिकारी बताउँदै आएका छन् । परिवारका सदस्यबीच नै उत्तराधिकारीको विवाद छ ।
संसारका मूलधारका क्रिस्चियन समुदायले भने उनीहरूलाई बहिष्कार गर्ने गरेको राष्ट्रिय क्रिस्चियन महासंघका अध्यक्ष सिबी गहतराज बताउँछन् । उत्तर कोरियामा जन्मिएका सन बाइबलको शिक्षाविपरीत अभिव्यक्ति दिने तथा पुस्तक लेखेका कारण सन् १९४८ मा निष्कासित भएका थिए । जासुसी गरेको आरोपमा उनी उत्तर कोरियामा पाँच वर्ष जेल परेका थिए । त्यस्तै, सन् १९८२ मा अमेरिकी अदालतले मुनलाई करछलीको अभियोगमा १८ महिना जेल सजाय गर्न आदेश दिएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापान, बेलायत र केही युरोपेली देशले उनको प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।
महासंघका अध्यक्ष गहतराजका अनुसार सन् २००४ मा अमेरिकी कंग्रेसका सदस्यलाई पैसाको आडमा प्रभावित बनाई आफू जिससको उत्तराधिकारी भन्दै मुनले श्रीपेच लगाएका थिए । सो घटना निकै विवादित थियो ।
करिब १८ देखि २० करोड खर्च अनुमान
सम्मेलन खर्चको यकिन हिसाबकिताब भइसकेको छैन । सम्मेलनका प्रेस संयोजक निश्चलले १८ देखि २० करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको बताएका थिए । यसबाहेक सरकारले औपचारिक रूपमै ५५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । निश्चलका अनुसार सम्पूर्ण खर्च विवरण एक–दुई दिनमा मात्रै आउनेछ । सम्मेलनका लागि अमेरिकाको न्युयोर्कमा रहेको युपिएफ इन्टरनेसनलले रकम दिएको हो । स्थानीय तहका प्रमुख र उपप्रमुखसहितको परिवारलाई आतेजाते खर्चसहित निम्ता थियो । उनीहरूलाई उपस्थितिका लागि पटक–पटक फोन पनि गरिएको थियो । सम्मेलनमा सहभागी गराउन ३ महिनाअघि सातै प्रदेशमा मेयरहरूको सम्मेलन गरिएको पनि निश्चलले बताए ।
अब अर्को सम्मेलनको तयारीमा लाग्छु एकनाथ ढकाल, सम्मेलन आयोजक
एसिया प्यासिफिक समिट २०१८ का आयोजक तथा युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले कार्यक्रम सफल भइसकेकाले यो विषयमा आफू तत्काल थप नबोल्ने बताएका छन् ।
सरकारले सहयोग गर्यो, कार्यक्रम सफल भइसक्यो । अब त्यसको विषयमा म बोल्न चाहन्नँ । अब अर्को समिटको तयारीमा लाग्ने हो,’ उनले यति मात्रै भने ।
कार्यक्रम बाइबल सिद्धान्त विपरीत: क्रिस्चियन महासंघ क्रिस्चियन समुदायलाई चोट पुर्याएको टिप्पणी
युनिफिकेसन चर्चका संस्थापकको आयोजना र नेपाल सरकारको सक्रियतामा सम्पन्न भएको सम्मेलनमा नेपाली क्रिस्चियनहरूको छाता संगठन क्रिस्चियन महासंघले सहभागिता जनाएन । महासंघका अध्यक्ष सिबी गहतराजले सरकार, नेता र जनतालाई भ्रममा राखेर कार्यक्रम गरिएको टिप्पणी गरे । ‘धर्ममाता भनिने हाक जा हान मुनको अन्तिम लक्ष्य सरकारप्रमुखका अगाडि जिससकी छोरी हुँ भनेर घोषणा गर्नु थियो, उनी सफल भइन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर, यो कार्यक्रम बाइबलविपरीत हो, धर्मलाई बदनाम गर्न आयोजना गरिएको हो, यस्तो कार्यक्रमले समग्र क्रिस्चियन समुदायलाई चोट पुर्याएको छ, आक्रोशित बनाएको छ ।’