भक्तपुर । भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरमा नेपाली सुगम संगीतका प्रसिद्ध गायक दीपक खरेलको एकल साँझ हुने भएको छ । सांगीतिक समाजले आउँदो पुस २८ गते उक्त साँझ गर्ने भएको छ ।
सांगीतिक समाजले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै साँझमा गायक खरेलले आफ्ना उत्कृष्ट १५ गीत गाउने जानकारी दिइएकोे थियो ।
समाजका अध्यक्ष प्रवीण शाहीले सुगम संगीतमा नयाँ पुस्तालाई उत्साहित गर्न उक्त सांगीतिक साँझ गर्न लागिएको बताए।
करिब चारसय वटा गीत गाइसकेका वरिष्ठ गायक खरेलले एकल साँझमा ‘गरुँ कि मीठा भूल’,‘तिम्रो त्यो हँसिलो मुहारमा’, ‘तिम्रो हर प्रश्नको जवाफ’, ‘पूर्णिमाको रात पनि औंशीको झैं लाग्छ’, ‘बादल बनाइदेऊ’ जस्ता कालजयी गीत गाउने छन् ।
कार्यक्रममा गायक खरेललाई द लिजेन्ड ब्याण्डले प्रत्यक्ष संगीत दिने कार्यक्रमका संयोजक अल्बर्ट बज्राचार्यले जानकारी दिए। त्यस्तै समाजका सदस्यहरुले गायक खरेललाई कोरसमा साथ दिने छन् ।
समाजले गत बर्ष नारायण गोपाल साँझ आयोजना गरेको थियो जसमा विभिन्न कलाकारहरुले नारायणगोपालका विभिन्न चर्चित गीतहरु गुनगुनाएका थिए ।