बाल विवाह रोक्न विद्यालयका निगरानी पत्र

275

बाजुरा । बाजुराको दुर्गम क्षेत्रमा रहेको गौमूल गाउँपालिकाले गाउँपालिकाभरि रहेका सम्पूर्ण विद्यालयमा पढ्दै गरेका छात्रछात्राले बीचैमा विद्यालय छोड्ने र बाल विवाह गर्ने क्रमलाई रोक्न २३ वटै विद्यालयलाई निगरानी पत्र पठाएको गौमूल गाउँपालिकाले जनाएको छ ।

विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई विद्यालय छोड्ने अनि बाल विवाह गर्ने कार्य पूर्णरुपमा बन्द गरी उनीहरूको सुन्दर भविष्य निर्माण गर्ने तथा पढाइप्रति बालबालिकालाई अभिप्रेरित गराउने उद्देश्यले सम्पूर्ण विद्यालयलाई निगरानी पत्र पठाइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले केही वडामा बाल विवाह भएको खबर पाएपछि उनीहरूका अभिभावक बोलाई बाल विवाह रोक्न सहयोग गर्न आग्रह गरेका छौँ ।”

तेइस वटै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा पढिरहेका कुनै पनि बालबालिकालाई पढाइ छोड्न र बाल विवाह गर्न नदिन नियमित रेखदेख तथा परामर्श गर्न निर्देशन दिइएको अध्यक्ष रोकायाले बताउनुभयो । कसैले बाल विवाह गरेको पाइएमा तत्काल गाउँपालिकालाई खबर गर्न पनि भनिएको छ ।

गाउँपालिकाभित्र रहेका सबै वडाका बाल विवाह गराउने आमा बुबालाई गाउँपालिकाको कार्यालयमा बोलाई बाल विवाहबाट हुने समस्या र त्यसको न्यूनीकरणका विषयमा छलफलसमेत गरिएको उपाध्यक्ष सीता थापाले जानकारी दिनुभयो । गाउँपालिकाले अघिल्लो साता मात्र छ जोडीलाई बाल विवाह गर्न रोक लगाएर आ–आफ्नो घर पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ खनालले जानकारी दिनुभएको छ ।