काठमाडौं । कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तार गरी ८ लेनको बनाइएपछि कोटेश्वर क्षेत्रमा हुनसक्ने संभावित सडक दुर्घटनालाई कम गर्न महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सोमबार सडकको स्थलगत निरीक्षण गरि सुरक्षाका उपायबारे आवश्यक पहल शुरु गरेको छ ।
चक्रपथ विस्तारपछि कोटेश्वर चोकदेखि ललितपुरको सिमाना बालकुमारी पुलसम्म करीव १ किलोमिटरको दुरीमा कोटेश्वर चोकमा पैदलयात्रुलाई बाटो काट्न एक ठाउँमा मात्रै जेब्रा क्रस राखिएको छ भने त्यसको केही पर एउटा आकाशेपुल बनाइएको छ ।
जसका कारण बालकुमारी पुलवारी जेब्राक्रसको अभावमा त्यसक्षेत्रका विद्यालय र कलेजका विद्यार्थीको साथै सर्वसाधारणलाई सडक वारपार गर्न निकै समस्या भएको, सवारी आवागमनमा अप्ठेरो परेको र चिल्लो सडकका कारण दिनँहू दुर्घटना बढीरहेकोमा प्रहरीसमक्ष जनगुनासो बढेपछि प्रहरी वृत्त नयाँबानेश्वरले आवश्यक पहल शुरु गरेको हो ।
पछिल्लो समयमा प्रहरी—स्थानीय साझेदारी कार्यक्रम प्रभावकारी भएपछि स्थानीय जनताहरु आफ्नो गुनासो लिएर प्रहरीसमक्ष पुग्न लागेका छन ।
स्थानीय वरिष्ठ पत्रकार बलराम प्यासीको पहल तथा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको नेतृत्वमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक शेरबहादुर चन्द, काठमाडौं महानरगपालिका वडा नं ३२ का सदस्य राजेन्द्र न्यौपाने सहितको टोलीले स्थलगत निरीक्षण गरि छलफल गरेकोे थियो ।
टोलीले बालकुमारी पुल वारी कोटेश्वरतर्फ चक्रपथ सडक खण्डमा दुर्घटना कम गर्न पैदलयात्रुका लागि जेब्राक्रस बनाउने, सडक बत्ति राख्ने र पुलमुनिको कच्ची सडकलाई तत्कालैदेखि सुधार गरि पुलमुनिबाट पनि नियमित सवारी आवागमनको व्यवस्था मिलाउने पहल पनि शुरु गरेको छ ।
टोलीमा सहभागी वडा सदस्य राजेन्द्र न्यौपानेले वालकुमारी पुलमुनिको भत्काइएको कच्चीसडकलाई २ दिनभित्रै एक्साभेटरले सम्याई सवारी आवागमन सुचारु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बालकुमारी पुलमुनिदेखि फुलवारीमार्ग हुँदै बागमती र मनोहरा नदीको दोभानसम्म मनोहरा करिडोरमा ढल विच्छयाउने कार्य सुस्तगतिमा चल्दा करिडोर हुँदै जडिबुटी र नरेफाँटतर्फ आउने पैदलयात्रु र सवारी साधनलाई अवरोध पुगेको छ ।
स्थानीय जनताको माग बमोजिम एकहप्ताभित्रै सडकमा जेब्राक्रस राख्ने र सडक वत्तिको लागि सम्वन्धित निकायमा तत्काल पहल गरिने नायव उपरिक्षक काफ्लेले बताए ।