काठमाडौं । रास्ट्रगानका रचनाकार एवम् कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उहाँकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा आज (शुक्रबार) बिहान १ बजे निधन भएको छ ।
उहाँ विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित औषधि उपचारमा हुनुुहुन्थ्यो ।
केही दिन यतादेखि अलि असहज महसुस गर्दैआउनु भएको उहाँ गएराती शौचालयबाट फर्केपछि सुतेलगत्तै निवासमा निधन भएको व्याकुल माइलाले बताउनुभयो ।
वि.सं.२००४ साल असोज महिनामा जन्मनुभएका स्वर्गीय राई वीस वर्षसम्म स्थायी शिक्षण सेवा गरेर सेवा निवृत्त भई सामाजिक सेवामा संलग्न हुुनुुहुन्थ्यो । आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैं समर्पित स्वर्गीय राई आफ्नो जीवनकालमा गाविस अध्यक्ष तथा ओखलढुंगा जिल्ला विकास समितिको सदस्य भई जीवनभर समाज र राष्ट्रको सेवामा क्रियाशील हुनुभयो ।
पिताको निधनको खवर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आउनुभएका व्याकुल माइला र उहाँकी धर्मपत्नि नानुकला राई शुक्रबार विहानै ओखलढुंगातर्फ जानुभएको छ । स्वर्गीय राईको राई परम्पराअनुसार शुक्रबार नै ओखलढुंगामा अन्तिम संस्कार गरिने जनाइएको छ ।
स्वर्गीय राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा हुनुुहुन्छ ।