भक्तपुर । अत्यधिक मादकपदार्थ सेवनबाट जिल्लाको चाँगुनारायण नपा ९ ताथलीमा इँटाभट्टा मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भोजपुरको साल्पासिलिछो गाउँपालिका दोभाने घर भई हाल सुडालस्थित बीएम इँटाभट्टामा काम गर्ने ३४ वर्षीय सन्तोष राईको अत्यधिक मादकपदार्थ सेवनबाट मृत्यु भएको हो ।
ताथलीस्थित एक होटलमा मादकपदार्थ सेवन गरी इँटाभट्टातर्फ फर्कने क्रममा उनी बाटोमा मृत अवस्थामा फेला परेका थिए ।
स्थानीयले खबर गरेपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले राईलाई मृत अवस्थामा फेला पारेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । त्यस्तै शव परीक्षणको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।







































