सिम्रिक साकोस्को नवौं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

250

भक्तपुर । भक्तपुरको चााँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. को नवौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाले संस्थाको नयाँ कार्य समिति चयन गरेको छ । सभाले रमेश न्हेम्हाफुकीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा भूपेन्द्र बुढाथोकी, सचिवमा मधुसुदन पण्डित र कोषाध्यक्षमा अर्जुनप्रसाद सुवेदी चुनिएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः हरिसुन्दर छुकां, उत्तम साखकर्मी, चन्द्रबहादुर ङाखुसी, किशोर माकजू र चण्डेश्वरी थुयाजु रहेका छन् ।
यसैगरी लेखा समितिको संयोजकमा बद्रीबहादुर खड्का, घनश्याम खड्का र सुन्दर न्हेम्हाफुकी चुनिएका छन् ।
साधारण सभाको उद्घाटन चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले गरेका थिए । सो अवसरमा वडा अध्यक्ष त्यातले सहकारी संस्थाले सहकारीको मूलय, मान्यताअनुसार काम गर्दा पनि सरकारले जनताको पहलमा सञ्चालनमा रहेका सहकारीहरुलाई नियमन गर्न खोजेको बताए ।
उनले भने, ‘बैंकमा भए, जति वटामा पनि सदस्य बन्न पाइने, खाता खोल्न पाइने, सहकारीहरुमा भने एक व्यक्ति एक सहकारीमा मात्र आवद्ध हुन पाउने नीति सरकारले ल्याएको छ, यो सहकारीमैत्री नीति हैन, यसले सहकारी फैलिन सक्तैन ।’ कार्यक्रममा उनले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न जरुरी रहेको बताउँदै सदस्यहरुको व्यक्तित्व, क्षमता र नेतृत्व विकासका लागि पनि पहल गर्नुपर्ने बताए ।
सहकारीप्रति सदस्यहरुको विश्वास हुने भएकाले सदस्यहरुको विश्वासलाई कायम गर्ने तरिकाबाट बचत तथा ऋण नीति बनाउनु पर्नेमा पनि वडा अध्यक्ष त्यातले सुझाएका थिए ।
सोही अवसरमा वडा अध्यक्ष त्यातले संस्थाका तीन कर्मचारीहरु क्रम : सुस्मिता, सरिता बाला र अनिष खड्कालाई नगद रु. ५ हजारका साथ सम्मान गरेका थिए ।
अध्यक्ष रमेश न्हेम्हाफुकीले एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको मुख्य सिद्धान्तका आधारमा सहकारीको मूल्य मान्यताअनुरुपका कामहरु अघि बढाउन सहकारीलाई सबल, मजबुत बनाउने प्रतिवद्धता जनाउँदै व्यवस्थापन चुस्त, बनाउने पनि बताए भने सचिव मधुसुदन पण्डितले निक्षेप संकलन वृद्धि गर्नका लागि आवश्यक रणनीति तयार पार्ने, निक्षेप कर्ताको सुविधाका लागि घरघरमा गएर निक्षेप संकलन गर्ने व्यवस्था गर्ने, संस्थाको जग्गा खरीद गर्ने प्रक्रिया अघि बढाउने, संस्थाको त्रिवर्षीय योजना बनाएर अघि बढ्ने , संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने लगायतका योजना सार्वजनिक गरेका थिए ।
वि.सं.२०६७ सालमा २५ जना सदस्यहरुबाट सुरु भएको सो सहकारीमा हाल ३०६ साधारण सदस्य रहेको संस्थाले जनाएको छ ।