भक्तपुर पत्रकार महासंघको साधारणसभाले पत्रकारका समस्या केलाउन सकेन

447

भक्तपुर पत्रकार महासंघको साधारणसभा हो की अन्य संघ संस्थाको ?
जगत प्रजापति
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा शनिवार सम्पन्न भयो ।

साधारणसभाले ८ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारहरुका समस्याका बारेमा केही सम्बोधन गरे पनि भक्तपुरको समग्र पत्रकारहरुको वस्तुस्थितीका बारेमा छलफल गरेर ठोस निष्कर्ष निकाल्न भने असफल भएको छ ।

भक्तपुरको पत्रकारितामा थुप्रै समस्याहरु छन । यहाँ कार्यरत पत्रकारहरुले समयमा पारिश्रमिक पाउन सकेका छैन । कतिपय सञ्चारगृहले नियुक्तिपत्र विना नै काम गराइरहेका छन । सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत पाउन सकेका छैन ।

जिल्लाका सम्वाददाताले अति मेहनतका साथ पठाएका समाचारहरुले सञ्चारमाध्यममा स्थान नपाउनाले उनीहरुको आय न्यून हुने समस्याले पत्रकारहरुलाई जीवन धान्न नै धौ धौ परेको अवस्था छ ।

कतिपय पत्रकारहरुलाई पत्रकारिता खाउँ भने दिनभरीको शिकार नखाउँ भने कान्छा बाउको अनुहार भने झैं पत्रकारिताबाट पलायन पनि हुन नसक्ने निरन्तरता दिन पनि नसकिने अवस्थामा रहेको छ ।
यी विषयहरुमा धनीभुत छलफल गरी ठोस निष्कर्ष निकाल्नु पर्नेमा महासंघ असफल भएको छ । बन्द सत्रमा पत्रकारहरुको न्यून उपस्थितीले पत्रकारहरु पनि आफ्ना समस्याहरु प्रति जिम्मेवार छैनन भन्ने स्पष्ट पारेको छ ।

महासंघको सूचना संयन्त्र साँघुरो भएर हो की पत्रकारहरु आफ्नै संस्थाको साधारणसभाप्रति जिम्मेवार नभएकाले हो, बन्द सत्रमा गणपुरक संख्या समेत पुग्न सकेन । यद्यपी दावी विरोध नभएपछि बन्दसत्र निर्वाध रुपमा सञ्चालन भयो र ८ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भयो ।

बन्दसत्रमा कार्यसमितिका जिम्मेवार पदाधिकारी र सदस्यहरु समेत देखिएन । उनीहरु एउटा स्थानीय तहको पत्रकार सम्मेलनमा भत्ताको लोभले बन्दसत्र छाडेर गएको भन्ने पनि सुनिएको छ । यस बारेमा महासंघले स्पष्ट पार्नु पर्दछ ।

भक्तपुरको पत्रकारिता क्षेत्रमा थुप्रै विकृति र विसंगती पनि देखा परेका छन । महासंघले पत्रकारहरुको हकहितको विषय उठाईरहँदा यो पेशालाई ईमान्दार र जिम्मेवार बनाउन पनि पहल गरिनुपर्दछ । त्यसका लागि पत्रकार आचारसंहिँताको पूर्ण पालना गराउने, नगर्नेलाई सचेत बनाउने, पत्रकारहरुको बृत्ति विकासका कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्य गरिनु पर्दछ ।

अहिले कतिपय संघसंस्थाका जिम्मेवार पदाधिकारीहरु पत्रकार देख्ने वित्तिकै लुकेर हिँड्नु पर्ने अवस्था समेत रहेको छ । महासंघको यसअघिको कार्यसमितिले सदस्यता शुद्धिकरणको शुरुवात गरेको थियो ।

साधारणसभाको उपस्थितीले वास्तविक पत्रकारहरुको संख्या औंल्याएको छ । यस बारेमा पनि ठोस निर्णय गरिनु पर्दथ्यो तर ८ बुँदेमा सदस्यता शुद्धिकरण गर्ने भन्ने वाक्य राख्ने बाहेक अरु निर्णय हुन सकेन । साधारणसभालाई महासंघका केन्द्रिय अध्यक्षले समेत शुरु देखी अन्त्यसम्म प्रत्यक्ष अवलोकन गरेको छ । भोलीका दिनमा यसले सकारात्मक परिणाम दिने आशा गर्न सकिन्छ ।

साधारणसभाको उद्घाटन सत्रको आसन्न ग्रहण अत्यन्त भद्दा र लामो भएको सहभागीहरुको गुनासो रहेको छ । पत्रकार महासंघको कार्यक्रममा पत्रकारहरु कै अपमान हुने शैलीको आसन्न ग्रहणले जिल्लाका वरिष्ठ पत्रकारहरु लज्जित हुनुपरेको गुनासो आएको छ । आसन्न ग्रहणका लागि ५ दर्जन भन्दा बढीलाई अतिथीमा राख्नु, २५ मिनेट भन्दा बढी समय आसन ग्रहणका लागि लाग्नु, मर्यादाक्रमको ख्याल नराख्नु पनि महासंघको कार्यक्रमको आलोचना भएको छ । प्रमुख अतिथीको रुपमा रहनु भएका सञ्चारमन्त्रीले समेत आसन ग्रहणको बारेमा टिप्पणी गर्नुले कार्यक्रमको गरिमा के थियो भन्ने स्पष्ट हुन्छ । महासंघका अध्यक्ष जुन जुन संस्थाको कार्यक्रममा अतिथीको रुपमा सहभागी भएको हो ती ती संस्थाका प्रमुखलाई सो कार्यक्रममा अतिथीको रुपमा राख्नुको औचित्य के हो ? यसको जवाफ महासंघले दिनुपर्दछ ।

महासंघ पत्रकारहरुको छाता संगठन हो । जुन संगठनको कार्यक्रम हो त्यो कार्यक्रममा त्यही संस्थासँग सम्बन्धीत व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण रहन्छ । त्यही व्यक्तित्वहरुले कार्यक्रमको शोभा बढाउने गर्दछ । अझ संस्थाको साधारणसभा भनेको संस्थाका सदस्यहरुका लागि सबैभन्दा महत्वपूर्ण दिन हो । अझ भनौं संस्थाका सदस्यहरुका लागि संस्थाको सबैभन्दा ठूलो चाड हो । त्यसैले हरेक संघ संस्थाहरुले आफ्ना संस्थासँग सम्बन्धीत व्यक्तित्वहरुलाई विशेष महत्व र स्थान दिने परम्परा रहेको छ । तर महासंघको साधारणसभामा पत्रकारहरुका अग्रज व्यक्तित्वहरुलाई भन्दा अन्य निकाय र संघ संस्थाका प्रतिनिधिलाई बढी महत्व दियो जुन मर्यादा अनुरुप होईन । त्यसैले पत्रकार महासंघको कार्यक्रम हो की अन्य कुनै संस्थाको भन्ने टिप्पणी समेत सुनिएको छ ।

लेखक नेपाल पत्रकार महासंघ भक्तपुरका पुर्वसचिव

महासंघले स्थापना दिवसको अवसरमा दिँदै आएको मैयाँदेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार साधारणसभाको अवसरमा प्रदान गरिएको छ । महासंघले नियमितरुपमा विगत केही वर्षदेखी दुई वटा पुरस्कार वितरण गर्दै आइरहेको छ जसमध्ये जिल्ला विकास समिति (जिविस)सँगको साझेदारीमा दिँदै आएको अग्रज पत्रकार सम्मान जिविसको खारेजीसँगै नियमित हुन सकेको छैन ।
महासंघका दुई वटा पुरस्कारका फरक फरक उद्देश्य र गरिमा रहेको छ । जिविससँगको साझेदारीमा प्रदान गर्ने अग्रज पत्रकार सम्मान महासंघको माथिल्लो श्रेणीको पुरस्कार हो,जसको राशी नगद ५ हजार एक रहेको छ । महासंघले कम्तिमा १५ वर्षदेखी निरन्तर भक्तपुरमा रहेर पत्रकारिताको क्षेत्रमा क्रियाशिल व्यक्तित्वलाई सम्मान गर्न यो पुरस्कारको शुरुवात गरेको हो ।

त्यसैगरी लक्ष्मीनारायण शिल्पकार जो अहिले नेपालको झण्डा बोकेर देश भ्रमण गर्ने व्यक्तित्वका रुपमा परिचित छ, उहाँले आफ्ना पत्नि मैयाँदेवी शिल्पकारको स्मृतिमा २५ हजार नगदको अक्षयकोष स्थापना गरी भक्तपुरलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका नयाँ पिँढीका पत्रकारलाई पत्रकारितामा थप प्रोत्साहन गर्न स्थापना गरिएको पुरस्कार हो ‘मैयाँदेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार’ । यी दुवै पुरस्कार नारायण सुन्दर किलम्बू अध्यक्ष हुँदा शुरु भएको हो ।
अग्रज पत्रकार सम्मानबाट जिल्लाका वरिष्ठ पत्रकारहरु कविर राणा, बलदेव थापा, विष्णुगोपाल कुसी, रमेश खड्का, विकलप्रसाद श्रेष्ठ, शेखर चौंलागाईं, नारायणसुन्दर किलम्बू, दिलिप थापामगरलगायतका पत्रकारहरु पुरस्कृत भइसक्नु भएको छ । यसैगरी मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट केदार बनेपाली, कृष्ण प्रजापति, लक्ष्मी गारु, पुष्करराज बुढाथोकी, रमेश गिरीलगायतका पत्रकारहरु पुरस्कृत भइसकेका छन । यसवर्ष यो पुरस्कार नारायणसुन्दर किलम्बूलाई प्रदान गरिएको छ । यस अर्थमा माथिल्लो श्रेणीको सम्मान पाइसकेका व्यक्तिलाई तल्लो श्रेणीको पुरस्कार दिनु महासंघको कमजोरी मात्र होईन गल्ती समेत हो । यसमा पुरस्कृत व्यक्तित्वले पनि ख्याल गर्नुपर्ने हो ।

महासंघले लामो समयपछि स्मारिका समेत प्रकाशित गरेको छ, जुन अत्यन्त स¥हानीय कार्य हो । यस अघि पनि यो  महासंघको जिम्मेवार पदमा रहँदा स्मारिका प्रकाशन गर्ने प्रयास भएको थियो तर जिम्मेवारी लिएका व्यक्तिले जिम्मेवारी बहन नगरेका कारण प्रकाशन गर्न असफल भएको थियो । स्मारिका प्रकाशन प्रशंसनीय भएपनि सम्पादनमा केही कमजोरी देखिएका छन । लेख रचनाको उचित सम्पादन नहुँदा कतिपय स्थानमा अर्थ स्पष्ट भएको छैन । लेखमा भएका त्रुटीहरु सच्याईएको भए अझ सुनमा सुगन्ध हुने थियो ।
(लेखक नेपाल पत्रकार महासंघ भक्तपुरका पुर्वसचिव हुन )