सरकारविरुद्ध पोखरामा तरुण दलको प्रदर्शन

283

पोखरा । सरकारका पछिल्ला काम कारबाहीविरुद्ध असन्तुष्टि जनाउँदै तरुण दल गण्डकी प्रदेशले पोखरामा शुक्रबार विरोध प्रदर्शन गरेको छ ।
तरुण दलको केन्द्रीय कार्यक्रमअनुरुप तरुण दलले प्रदेश राजधानी पोखरामा व्यापक विरोध प्रदर्शन गरेको हो ।

लामो समयपछि सडक आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसको भातृसंगठन तरुण दलले सरकारको अधिनायकवाद चरित्रको विरुद्ध आन्दोलन चर्काएको हो ।
आन्दोलनका उत्रिएकाहरुले सरकारले पछिल्लो समय महँगी वृद्धि गरेको, बलात्कारी र भ्रष्टाचारीलाई संरक्षण गरेको, डा. गोविन्द केसी अनसन बसे पनि दुईतिहाइ भरमा चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गाबाट शुरु -याली पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेकपा सरकार नागरिकका हकअधिकारप्रति जिम्मेवार नभएको भन्दै तरुण दलले आगामी दिनमा सडक तताउने चेतावनी दिए । सरकारले दुईतिहाइ भरमा संविधानविपरीत अघि बढेको आरोप लगाए ।

सभामा नेपाली काँग्रेस जिल्ला सभापति कृष्ण केसी, गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, तनहुँका तरुण दल अध्यक्ष रमेश पाण्डे, पर्वतका तरुण दल अध्यक्ष राज मल्ल ठकुरी लगायतले .सरकार भ्रष्टाचारमा मुछिएको, निर्मला काण्डमा सरकारले न्याय दिन नसकेको, महँगी नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरेका थिए ।

तरुणको विरोध प्रदर्शनका कारण पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । कार्यक्रम भव्य बनाउन प्रदेशका विभिन्न जिल्लाबाट काँग्रेसका कार्यकर्ता पोखरा उतारिएका थिए ।