Home समाचार देशैभरि महिला आत्मरक्षा (सेल्फ डिफेन्स) सिकाउँदै भक्तपुरे चेली पदमा

भक्तपुर । काठमाडौं प्रख्यात अस्पतालमा कार्यरत महिला कर्मचारी आफनै घरमा छोटो कपडा लगाएर बसेकी थिइन् । उनको आफनै घरमा रहेकी उनलाई त्यहीबेला उनको आफनै आफन्तले वलात्कारको असफल प्रयास गरे । उनी बचिन्, । यसको कारण थियो, सेल्फ डिफेन्स (आत्म रक्षा) तालिम प्राप्त हुनु । उनको यही सफलताबाट सेल्फ डिफेन्सलाई देशैभरि फैलाउन प्रोत्साहन मिल्यो, उनका सेल्फ डिफेन्स गुरु पदमा खयरगोलीलाई ।
पदमा भन्छिन्, ‘यो एउटा उल्लेख्य उदाहरण मात्रै हो, मेरो जीवनमा । मैले दिएको तालिमबाट धेरै छात्रा, किशोरी अनि महिला समाजमा कलंकित हुनबाट जोगिएका छन् । यसकारण देशैभरि म सेल्फ डिफेन्सको तालिम दिने योजनामा निरन्तर लागिरहेकी छु ।’
भक्तपुर सेल्फ डिफेन्स मार्शल अर्गनाइजेशनकी उपाध्यक्षसमेत रहेकी उनले देशका कुनाकप्चामा पुगेर सेल्फ डिफेन्स तालिम दिइरहेको सुनाइन् । नेपाल सेल्फ डिफेन्स मार्शल आर्टअर्गनाईजेसनको आयोजनामा नेपालको विभिन्न स्थानमा सेल्फ डिफेन्स तालिम दिएको उनले सुनाइन् । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं लायन्स क्लवलगायतको आयोजनामा नेपालका काठमाडौ, ललितपुर, भक्तपुर, बनेपा, धनगढी, महेन्द्रनगर, कैलाली, कञ्चनपुर, विराटनगर, विर्तामोड, कास्की, मोरडलगायत विभिन्न स्थानहरुमा महिला सशक्तिकरण कार्यक्रममा सेल्फ डिफेन्स तालिम दिइदै आइरहेको उनले सुनाइन् । तालिम नेपालको ७७ वटै जिल्लामा दिइने योजना रहेको उनले सुनाइन् ।
विभिन्न स्कुल, सहकारी संघ संस्था, बैक, कलेजलगायतका सामाजिक संघ संस्थाहरुमा पनि सेल्फ डिफेन्स तालिम दिन्दै आइरहेको उनले जनाइन् । एसोसियसनको आयोजनामा ७७ वटै जिल्ला खेलकुद संघसंग समन्वय राखि स्थानीय स्कुल, कलेज, संघ, संस्थालगायत स्वास्थ्य संस्था, महिला समूहमा आत्मरक्षा दिने कार्य पनि भएको उनले जनाइन् ।
हालसम्ममा करिब ५० हजार किशोरी महिलाहरुले यो तालिम लिएको अनुमान गरिएको छ । काठमाडौ उपत्यकामा दिएको आत्मरक्षा तालिम लिएका मध्यबाट धेरै किशोरीहरु बलात्कारीको हातबाट बच्न सफल भएको उदाहरण उनले पेश गरिन् ।
समाज जति विकसित भएपनि बढ्दो गरिवी, परम्परागत कुरिती, यौन त्रृष्णा, लुटपाट, झैझगडा, ईष्र्या, द्धेष, पारिवारिक कलह, हत्या–हिंसा, अपहरण, बलात्कारका जस्तो घृणित घटनाहरु भइरहेको कारण पुरुषको दाँजोमा महिला, बालबालिका, बृद्धबृद्धाहरु बढी जोखिममा परेको पाइएको उनी सुनाउछिन् । ग्रामिण विकट क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमासमेत आपराधिक घटना बद्दो अवस्थामा रहेको उनी औल्याउछिन् । यस्ता दुर्घटनाबाट बच्नका लागि विभिन्न उपायहरु मध्य आत्मरक्षा पनि एक भएको उनको ठम्याई छ ।
‘समाजमा अकस्मात हुन सक्ने शारिरीक तथा सांघातिक हमलाको जवाफ दिई आफुलाई बचाउने कला नै आत्मरक्षा हो’, उनी परिभाषित गर्छिन् । ‘यो कला सबैले सिक्नु आवश्यक देखिन्छ’, उनको जोड छ ।
Related