भद्रपुर, (झापा) : झापा गोल्डकपको चौथो संस्करण शनिबारबाट झापाको विर्तामोडमा शुरु भएको छ। प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली आयोजक झापा ११ फुटबल क्लवले विजयी सुरुवात गरेको छ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको खेलमा झापा ११ ले सहारा फुटबल क्लब पोखरालाई २-० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। घरेलु दर्शकको समर्थन पाएका झापा ११ ले सहाराविरुद्ध पहिलो हाफ्मै दुई गोलले अग्रता लिए। खेलको ४० औँ मिनेटमा झापाबाट खेलेका विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै टिमलाई अग्रता दिलाए। एक गोलले अग्रता लिएको केही मिनेट बित्न नपाउँदै झापाले थप एक गोल गरेर जितनजिकै पुगे।
झापाका कप्तान कर्ण लिम्बूको स्थानमा मैदान प्रवेश गरेका संयोग राईले खेलको ४५ औ मिनेटमा गोल गरे। झापाले पहिलो हाफ्मा सहारालाई दबावमा राखे। दोस्रो हाफमा पनि सहाराले झापालाई दबाब राख्न नसक्दा खेल झापाको पक्षमा गयो। खेलको म्यान अफ दि म्याच झापा ११ का संजोग राई घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। आइतबार सशस्त्र प्रहरी (एपीएफ) क्लब र मोरङ ११ फुटबल क्लव बीच खेल हुने आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित विभागीय टोलीहरू त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिसका साथै मनाङ मर्स्र्याङ्दी क्लब, थ्री स्टार, मोरङ ११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए। विजेता टिमलाई नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफि पाउनेछ।







































