ब्रिटिस कलेजको लापरवाहीले मेरो छोराको ज्यान गयो : महेन्द्र श्रेष्ठ

246

काठमाडौं : सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेजले लिनुपर्ने स्पष्ट पारेका छन्। श्रेष्ठले भने, ‘कलेजको लापरवाहीकै कारण मेरो छोराको निधन भएको हो। त्यसैले कलेजले जिम्मेवारी लिनुपर्छ।’

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको फागुन २ गते दुवई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित कलेजका एक जना शिक्षकले सुनाएको जनाए। उनले भने, ‘मेरो छोरा कलेजको टुरमा दुवई गएको थियो। तर, दुवईमै निधन भएको दुःखद् खबर कलेजका एक जना शिक्षकले ९८०११३४२०३ मोवाइल नम्बरबाट फोन गरेर सुनाउनु भएको हो।’

छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरूले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरूबाट ठूलो गल्ती भएको भनेर स्वीकार गरिएको पनि स्पष्ट पारे। दुवईमा आफ्नो छोरा हराएको ८ घण्टापछि मात्रै कलेजबाट भ्रमणमा सहभागी सदस्यहरूले खोजी गर्नु नै रहस्यमय भएको उनको दाबी छ। उनले भने,‘मेरो छोरा हराएको घण्टौंपछि मात्रै खोजी भएको कुरा बाहिर आएको छ। यो अत्यन्तै दुःखदायी कुरा हो। घट्ना घटेको अन्दाजी ८ घण्टापछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ।’

श्रेष्ठले भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीलाई कलेजले किन सहभागी गरायो? भन्दै प्रश्नसमेत गरे। उनले आफूले छोराको शव नबुझ्दासम्म कलेजले निकै चासो देखाएको तर दाहसंस्कार गरिसकेपछि कुनै वास्ता नगरेको पनि दुःखेसो पोखे। उनले अघि थपे,‘वास्ता त गरेन गरेन। कलेजले ममाथि उल्टै अभद्र व्यवहार गर्‍याे। अपशब्द बोल्यो।’ उनले कलेजकै लापरवाहीका कारण आफ्नो छोराले अनाहकमा ज्यान गुमाएको गम्भीर आरोप लगाए। उनले भने,‘यस सम्बन्धमा प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी गरी सक्दा पनि प्रहरी प्रशासनबाट कुनै पनि चित्त बुझ्दो पहल भएन। मलाई यसमा दुःख लागेको छ।’

भ्रमण दलमा सहभागी कलेजका म्याम रिना श्रेष्ठ र नविना महर्जनको र आफ्नो छोरासँगै समुन्द्रमा पौडी खेल्न गएका साथी निषेश सुवेदीको बयान नै फरक-फरक देखिएको पनि सुनाए। उनले कलेजको जिम्मेवार व्यक्ति सिइओ नरेन्द्र कँडेल हाल लण्डनमा रहेको सुनाउँदै तुरुन्त काठमाडौं आई आफूसँग सम्पर्क गरी छलफल गर्नुपर्ने माग गरे। उनले भने,‘कलेजले मसँग तत्काल वार्ता तथा छलफल गर्नुपर्छ। सिईओ अहिले लण्डनमा हुनुहुन्छ। उहाँले मसँग तत्काल छलफल गर्नुपर्छ।’ उनले द ब्रिटिश कलेजले व्यापारीकरणको नाममा विद्यार्थीलाई विदेश भ्रमणमा लैजाने गरेको पनि सुनाए। उनले थपे,‘यसतर्फ राज्यले विशेष ध्यान पुर्‍याउनुपर्छ।

कलेजले विद्यार्थीसँग मोटो रकम असुलेर यसरी व्यापारीकरण गरिरहेको छ। यस्तो कलेजको अनुमतिपत्र नै खोस्नुपर्छ। यतातर्फ सरकारको यथाशीघ्र ध्यान जाओस्।’ आफ्नो छोराको शव घर पठाउँदासमेत कलेजले लापरवाही गरेको उनले आरोप लगाए। उनले सुनाए,‘सुरुमा कलेजले छोराको शव पठाउँछु भन्यो। तर पछि कलेजले फोन गरेर शव बाहनको पैसा समेत मलाई तिर्न भन्यो। पैसा तिर्नु ठूलो कुरा होइन। तर, कलेजले अमानवीय व्यवहार देखायो।’ 

Source link