भक्तपुर । दुई विद्यालय मर्ज गरी एक भएको भक्तपुरको एक विद्यालयका विद्यार्थीले पोशाक पाएका छन् । विद्यार्थी कम भएको भन्दै भक्तपुरको सूर्यविनायक नगरपालिकाले गत जेठमा महेन्द्र निमावि र भैरबी आधारभूत विद्यालय समायोजन गरी कटुञ्जे आधारभूत विद्यालय बनाएको थियो ।
सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न सहयोगीहरुले गरेको सहयोगको आधारमा पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक यमपी भुसालले बताए ।
उनले सो विद्यालयमा अध्ययनरत १२० विद्यार्थीले पोशाकअन्तर्गत ट्रयाक सुट पाएको जानकारी दिँदै पोशाक पाएपछि विद्यार्थीहरु खुसी भएको बताए ।
विभिन्न ठाउँबाट बसाइँ सरी आएका र दैनिक ज्यालादारीमा काम गर्ने अभिभावकका सन्तान पढ्ने विद्यालय बनेको सो विद्यालयमा स्थानीयले सन्तान नपढाए पनि स्थानीयहरु क्रमशः अनिता पाण्डे, सर्मिला खुलीमुली, उद्धवराज पौडेल, विश्वजीत राना, किरण थापा र आत्मनिर्भर युवा समाजको पहलमा पोशाक उपलब्ध गराइएको थियो ।
विद्यार्थीलाई भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद महेश बस्नेतले पोशाक वितरण गरेका थिए । सो क्रममा उनले २०÷२५ वर्षसम्म सामुदायिक विद्यालयको साख रहेको चर्चा गर्दै निजी विद्यालय आउन थालेदेखि भने सामुदायिक विद्यालयमा संकट देखिएको बताए ।
उनले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा आएपछि सूर्यविनायक नगरपालिकाले एक नमूना सामुदायिक विद्यालय बनाउने योजना बनाएकोमा खुसी व्यक्त गर्दै सो कामका लागि आफूले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले सार्वजनिक विद्यालय भन्नेबित्तिक्कै दैनिक काम गरी खाने अभिभावकका सन्तान पढ्ने, आय नभएका, कमजोर अभिभावकका सन्तान पढ्ने थलोको रुपमा चिनिँदै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तहले त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे ।
सांसद बस्नेतले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा परिचित हुँदै जानुमा निजीको नभई सामुदायिक विद्यालयको योगदान रहेको बताए ।
कार्यक्रममा सो विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज थापा, आत्मनिर्भर युवा समाजका सल्लाहकार चन्द्र खत्री, स्थानीय किरण थापा र अनिता पाण्डेले पनि विद्यार्थीको शिक्षाको विषयमा बोलेका थिए ।