राप्रपाको राष्ट्रिय स्वाभिमानी यात्राको भक्तपुरमा तयारी पुरा

291

भक्तपुर । फागुन १५ गते देखि सूरु भएको राप्रपाको राष्ट्रिय स्वाभिमानी यात्राको भक्तपुरमा तयारी सम्पन्न भएको राप्रपा भक्तपुरले जनाएको छ । राप्रपा भक्तपुरले बुधबार सल्लाघारीमा पत्रकार सम्मेलन गर्दै यात्राको स्वागतार्थ भक्तपुरमा तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
पाथीभरा मन्दिरमा धार्मिक अनुष्ठान गरि सूरु भएको यात्रा चैत १ गते भक्तपुर पुग्ने र सो यात्राको स्वागतार्थ भक्तपुरमा सम्पूर्ण कार्य सम्पन्न भएको राप्रपा भक्तपुरका अध्यक्ष माधब खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ताप्लेजुङको पाथिभराबाट सूरु भएको २८०७ किलोमिटर लामो यात्र कुनै सरकारको दवाबको लागि, राजनीतिक यात्रा, पार्टी विरुद्दको दल विरुद्दको धर्मको विरुद्दमा नभएको उहाँले बताउँदै यो केवल राष्ट्रको स्वाभिमानको खातिर मात्र भएको जानकारी दिनुभएको थियो ।
राप्रपाले थालनी गरेको यात्रा भक्तपुर पुग्दा यात्रालुलाई भक्तपुरको लोकप्रिय दहि जु जु द्यौ बाट स्वागत गरिने समेत उहाँले जानकारी दिनुभयो ।

मुलुकमा केहि बर्ष देखि आत्मस्वाभिमानमा गिरावट आएको र धर्म संस्कार माथी नै आँच आउने काम भएको छ । यसैको साख जोगाउन तथा मुलुकको आत्म स्वाभिमानको लागि राप्रपाले देश ब्यापी रुपमा स्वाभिमानी यात्रा गरि रहेको छ । पहिलो चरणमा मुलुकका ३६ जिल्लामा यात्रा गर्दै आगामी दिनमा ७७ जिल्लामा नै यसलाई निरन्तरता दिने सोचका साथ राप्रपाले स्वाभिमानी यात्रा गरि रहेको छ ।
सनातन हिन्दुराष्ट्रको पुनस्थापन, राजसंस्था सहितको लोकतन्त्रको लागि गोलमेच सम्मेलन, संघीयता बारेमा जनमत संग्रह, महंगी नियन्त्रण, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी श्रजना , जातिय विभेदको अन्त्य महिलामाथीको हिंसा अन्त्य आदि माग राख्दै राष्ट्रिय स्वाभिमानी यात्रा जारी रहेको छ ।
यात्रा को अन्तिम दिन भक्तपुर हुँदै काठमाण्डौंको भृकुटिमण्डपमा सभा गर्दै सम्पन्न गर्ने राप्रपाले जनाएको छ ।