शिक्षामा गुणस्तरका लागि शिक्षककै भूमिका महत्वपूर्ण

454

सम्मानित हुँदा दंग परे शिक्षक

भक्तपुुर । भक्तपुरका १३ जना शिक्षक शुक्रबार सम्मानित भएका छन् । भक्तपुरको आधारभूत विद्यालय समितिको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यालयका शिक्षकहरु सम्मानित भएका हुन् ।
सम्मानित हुने शिक्षकहरुमा समाजसुधार माविका शिक्षकद्वय राम प्रजापति र सुरेन्द्रमान वासिंछ्याक, भारती आधारभूत विद्यालयका शशिकला प्रधानाङ्ग र पुनकेशरी प्रधानाङ्ग, बालसेवक आधारभूत विद्यालयका रञ्जना प्रधानाङ्ग, गणेश मावि भार्वाचोका उमेश प्रजापति, नवीन आधारभूत विद्यालयका कृष्णराम न्हिसुतु, भक्तबहादुर नगरकोटी, ब्रम्हचारिणी आधारभूत विद्यालयका शारदा वैद्य, तारा माविका राजाराम सुवाल, शारदा आधारभूत विद्यालयका हरिकृष्ण रञ्जित, जनसेवा आधारभूत विद्यालयका विश्वराम सुवाल र कृष्णप्रसाद सुवाल रहेका छन् ।
जीवनको लामो समय शिक्षा क्षेत्रमा विताएका उनीहरुलाई सम्मान गरिएको आधारभूत विद्यालय समितिले जनाएको छ । शिक्षण पेशामा रहेर शैक्षिक उन्नयनमा पुर्याएको योगदानबापत सम्मानित हुन पाउँदा सम्मानित शिक्षकहरु दंग परेका थिए । उनीहरुले समाजमा शिक्षकलाई हेर्ने दृष्टिकोणमा नकारात्मकता आइरहेको बेलामा गरिएको सम्मानले अझ हौसला बढेको प्रतिक्रिया दिएका थिए ।
उनीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सो अवसरमा नगरपालिका प्रमुख प्रजापतिले सामुदायिक विद्यालयको स्तर राम्रो बनाउन स्थानीय सरकार, शिक्षकको मेहेनत र विद्यार्थीहरुको लगनशीलता आवश्यक भएको बताए । उनले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा आइसकेपछि भक्तपुरको शिक्षाको स्तर माथि उकास्नका लागि नगरभित्रका सामुदायिक विद्यालयहरुको भौतिक सुधारको लागि आर्थिक सहयोग प्रदान गरेको, शिक्षक–शिक्षिकाहरुलाई मन्टेश्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गरेको जानकारी दिए ।
उनले भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुद आदिको विषयमा नयाँ पुस्तालाई जानकारी दिन भक्तपुर नगरभित्रका सबै विद्यालयहरुमा शिक्षा ऐन र स्थानीय पाठ्यक्रम लागु गरेको पनि चर्चा गरेका थिए ।
सोही अवसरमा पद्म माविका स्रोतव्यक्ति धु्रवलाल हमालले आधारभूत विद्यालय समिति विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गठन भएको बताउँदै समाजलाई अगाडि बढाउनका लागि पनि शिक्षककै भूमिका हुनेमा जोड दिए । बासु माविका प्रअ अम्बिका न्याइँच्याइँले समितिले गुणस्तरीय शिक्षा र शिक्षण पद्धति परिस्कृत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विद्यार्थीको बौद्धिक क्षमता विकासको निम्ति अतिरिक्त क्रियाकलाप सञ्चालनको आवश्यकता औंल्याइन् । आधारभूत माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष पुष्पलाल सुजखूले देशको लागि असल नागरिक तयार गर्ने उद्देश्यले समितिको स्थापना बताए । सोही अवसरमा विभिन्न प्रतियोगिताका विजयीहरुलाई पदक र प्रमाण पत्र दिइएको समितिका अध्यक्ष सूर्यबहादुर फोँजूले जानकारी दिए ।