कोइरालाको स्मृतिमा सूयविनायकमा दीप प्रज्वलन

313

भक्तपुर । लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा भक्तपुरको सूर्यविनायकमा दीप प्रज्वलन गरिएको छ । गिरिजाप्रसाद कोइराला प्रतिष्ठान जिल्ला समिति भक्तपुरले स्व कोइरालाको नवौं स्मृति दिवसका अवसरमा बिहीबार साँझ भक्तपुरको सुर्यबिनायकमा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा बोल्दै जीपी कोईराला प्रतिष्ठान ३ नम्बर प्रदेश समिति संयोजक एबं कांग्रेस नेतृ रीता खनालले माओवादी जनयुद्धको सुरक्षित अवतरण र मुलुकको शान्ति प्रक्रियामा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताइन् । ‘स्व कोइराला नेपाली कांग्रेसको मात्र नेता नभएर मुलुककै नेता एबं शान्ति र क्रान्तिका महानायक हुनुहुन्थ्यो,’ उनले भनिन् । खनालले कोइराला सहमति, सहकार्य र एकतामा जोड दिने गरेको बताउँदै वर्तमान सरकारले पनि अधिनायकवादको बाटो छोडी सबै दलसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

नेतृ खनालले लोकतन्त्रका मामिलामा गिरिजाबाबुले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताइन् । उनले घर झगडामा अल्मलिएको कांग्रेसले पार्टीको आन्तरिक एकतालाई विधिसंगत ढंगले मिलाएर देश कब्जा गर्न लागेकोे कम्युनिष्ट अधिनायकवाद बिरुद्ध खबरदारी गरिरहनुपर्ने बताइन् ।

प्रदेश सांसद रजनी जोशीले मुलुकमा अहिले गिरीजाबाबुजस्ता देशलाई दुई दशक निरन्तर नेतृत्व दिने राजनेताको अभाव खड्कीएको बताइन् । प्रतिष्ठान जिल्ला समिति भक्तपुरका अध्यक्ष बिदुरमानसिंह बस्नेतले निरकुंश राजतन्त्र र माओवादीलाई मिलाउन गिरीजाबाबुले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा नेपाल तरण दलका पूर्व अध्यक्ष बिनोद कायस्थ, प्रतिष्ठान ३ नम्बर प्रदेश समिति महासचिब उत्तम गौतम, जिल्ला नेता उद्धब खड्का, नेतृ कल्पना राजथला, समितिका पदाधिकारी, सदस्यलगायत कांग्रेस नेता, कार्यकर्ता, स्थानीय र स्व।कोईरालाका अनुयायीहरुको सहभागिता रहेको थियो ।