Home समाचार नेपाल र जापानबीच श्रम सम्झौतामा हस्ताक्षर अव श्रमकालागि जापान खुल्ला
काठमाडौं । नेपाली कामदार जापान लैजानेबारे आज दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा दुई देशका प्रतिनिधिबीच श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको हो ।
सम्झौतामा पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा। रामप्रसाद घिमिरे र जापानको तर्फबाट नेपालकालागि जापानी राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट लगायतको उपस्थिती थियो ।
समझदारी अनुसार आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ । ‘अप्रिल १ गतेदेखि जापानी भाषा परीक्षाको तयारी हुनेछ’, मन्त्रालयले भनेको छ, ‘समझदारी अनुसार सुरुवाती चरणमा स्वास्थ्य, उद्योग, केयरगिभर र कृषि क्षेत्रका कामदारलाई प्राथमिकता दिइनेछ ।’
दुई÷दुई महिनामा भाषा परीक्षा हुनेछ । यसरी वर्षमा ६ पटक भाषा परीक्षा हुने समझदारीमा उल्लेख छ । जापान जाने कामदारले जापानी भाषाको ‘एम फोर’ तह भने अनिवार्य पास गर्नुपर्नेछ । कामदारका लागि २४ घण्टे बीमा सुविधा गरिएको छ । जापान जाने कामदारले खर्च गर्नुपर्ने छैन । यसका लागि कामदारको खर्च रोजगारदाता कम्पनीले नै व्येहोर्ने समझदारी पत्रमा उल्लेख छ ।
आफू काम गर्न जाने क्षेत्रका बारेमा श्रमिकले कम्तिमा ३ महिनाको तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । कामदारको करार अवधि ३ वर्षको हुनेछ ।
करार अवधि बाँकी रहँदै कामदारले आवश्यक ठाने कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था सुरक्षित गरिएको छ ।
नेपाली विद्यार्थीका लागि पनि निकै आकर्षक गन्तब्य मानिदै आएको जापानमा कामदारले परिवार पनि लैजान पाउने व्यवस्था गरिएको छ । यसका लागि ‘फ्यामली भिसा’को प्रावधान राखिएको छ ।
नेपाली कामदारले पाउने तलब सेवा सुविधा जापानिज नागरिकसरह हुने जनाइएको छ ।
Related