बौंद्धमा यसरी समातिए तिब्बतियन जुवा ‘माजोङ’ को मज्जा लिनेहरू

249

काठमाडौं । पहिले महानगरीय प्रहरी बृत्त बौंद्धमा जो प्रमुख बनेर आउँछ, त्यहाँको मुख्य अवैध आयस्रोत तिब्बतियन जुवा अर्थात माजोङलाई निर्वाध चल्न दिनु थियो । पछिल्ला बर्षहरुमा पनि लुकीछिपी त्यसो गर्नेक्रम चलेकै थियो । यसअघि बौंद्ध बृत्तमा आउने हाकिमहरुले मासिक लाखौं रुपैयाँ भेटी बुझ्ने गर्थे, अवैध जुवा सञ्चालकबाट ।

यसअघि बौंद्ध बृत्तका प्रमुख डिएसपी श्यामकुमार राई घुस लिँदालिदै पक्राउ परेपछि त सो कुराको थप पुष्टि भयो । पछिल्लो समय भने यस्ता अवैध कामबाट कमाउने धन्दाको ‘क्रमभंग’ भएको छ । डिएसपी श्यामकुमार राईको पक्राउसँगै बृत्तको कमाण्ड संहाल्न आएका डिएसपी नरेन्द्र चन्दले आफ्नो क्षेत्रमा हुने अवैध जुवा धन्दामाथि विशेष निगरानी र छापा मार्न थालेपछि काम गरेको देखिन थालेको छ । उनले सामाजिक विकृति र विसंगती विरुद्ध नियमित अपरेशन चलाइरहेका छन् ।

उनले बौंद्ध बृत्तको कमाण्ड संहालेसँगै करिब एक दर्जन जुवा अखडामा छापा, सञ्चालक तथा जुवाडेलाई पक्राउ गरी कारबाही गरिएको छ । यसअघि पहिलोपटक आधा दर्जन बढि हाइप्रोफाइल जुवाडे महिलालाई पनि बौंद्ध बृत्तले पक्राउ गरेको थियो । त्यसअघि पनि फुलबारीस्थित तिब्बतियन जुवा खेलाउने अखडामा छापा मार्ने क्रममा २१ जना पक्राउ परेका थिए । काठमाडौं प्रहरी परिसर र बौंद्धको संयुक्त प्रयासमा छापा मारिएको उक्त अखडाबाट केही नेपाली, भारतीय र तिब्बतीसहित २१ जना पक्राउ परेका थिए ।

शनिबार राति पनि बौंद्ध फूलबारीस्थित तिब्बतियन माजोङ खेलाउने अखडामा बृत्तले छापा मार्दा २ लाख ९८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ परे । उक्त अखडाबाट पक्राउ परेका एक जना दार्जलिङ्गे नेपाली र अन्य सबै तिब्बतियन हुन् । उनीहरुलाई राम्रोसँग नेपाली बोल्न पनि आउँदैन भने उनीहरुले आफ्नो ठेगाना भारतको नयाँदिल्ली बताएको खुल्न आएको छ । स्रोतका अनुसार उनीहरु तिब्बतियन रिफुजी हुन् भने उनीहरु धर्मशालाबाट नेपाल आएका हुन् ।

फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्ने तेन्जिङ शेर्पाले तिब्बतियन जुवा माजोङ सञ्चालन गरिरहेको सूचना पाएलगत्तै बृत्तको टोली त्यहाँ छापा मार्न पुगेको थियो । छापा मार्नेक्रममा सञ्चालक तेन्जिङ शेर्पा, टासीछेप्तेन लामा, अपे लामा, उङ्छी लामा, वाङचु शेर्पा, तेन्ज शेर्पा, तेम्बा दोर्जेसहित ७ जना पक्राउ परेको बृत्तका डिएसपी नरेन्द चन्दले जानकारी दिए ।

पक्राउ परेका उनीहरुको साथबाट माजोङ खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद भएको थियो । नेपाली तथा तिब्बतियनले चलाएको विभिन्न जुवा अखडामा छापा मार्ने क्रममा अहिलेसम्म लाखौं रुपैयाँ बरामद भइसकेको छ भने दर्जनौंलाई कारबाही । बृत्तका डिएसपी चन्दले विदेशी वा स्वदेशी जो भएपनि कारबाहीका लागि प्रचलित जुवा ऐन नै आकर्षित हुन्छ । सोही अनुसार उनीहरुमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रियाअघि बढ्छ । उनीहरु धर्मशालाबाट आएका रिफुजी हुन् वा नेपाली नागरिकता लिएका तिब्बतियन नेपाली त्यसबारेमा समेत अनुसन्धान हुने बृत्तले जनाएको छ ।