काठमाडौंः रञ्जु दर्शनासहितको टोलीले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।
मंगलबार विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शना सहितको टोलीले अख्तियारमा दिएको उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ ।
खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको बताउँदै विवेकशील नेपाली दलले उजुरी दर्ता गरेको हो ।
अहिले खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयको जिम्मा बिना मगरले लिएकी छन् ।
मेलम्ची खानेपानी आयोजनामा विवादहरू आउन थालेपछि उनले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् ।
यसै विषयलाई लिएर संसदको अर्थ समिति र संसदमा समेत उनीमाथि प्रश्न उठाइएको थियो ।
मेलम्चीका विषयमा विभिन्न मिडियामा भ्रष्टाचार, कमिशनका तथ्य सार्वजनिक हुँदा पनि छानबिन अझे हुन सकेको छैन ।