बाजुरा :- जिल्लाको गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिए ।
नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सक्नुभएको थिएन । त्यो सँगै नागरिकतासँग सम्बन्धित अन्य काम पनि रोकिएका थिए । वृद्धावस्थामा नागरिकता पाउँदा बोहरा मात्र होइन उनका आफन्तले समेत खुशी व्यक्त गरेका छन् । विवाह नगरेर भाइ र आफन्तको सहयोगमा बसेका बोहरालाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा नै नभएको उनले बताए । शिविर बस्ने थाहा पाएपछि उनकी भतिजी नाता पर्ने विमला बोहराले गाउँपालिकाको कार्यालयमा ल्याएर नागरिकता लिन सहयोग गरेको बिमला बोहराले बताए।
प्रतिनिधिसभाका सदस्य सांसद लालबहादुर थापा र प्रमुख जिल्ला अधिकारी चेतराज बरालले संयुक्तरूपमा हस्तान्त्रण गरेका थिए । नागरिकतासम्बन्धी शिविरको आयोजना गरेपछि अन्य धेरैले नागरिकता लिन सहयोग मिल्ने गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाले बताए । शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामवली, भेटेनरी शाखाले पशुसम्बन्धी निःशुल्क सेवा दिने आयोजकले जनाएका छन् ।







































