बीबीसी – यसभन्दा अघि थाहा नभएको मानव प्रजातिको अवशेष फिलिपिन्सको एक गुफामा फेला परेको छ ।
लोप भइसकेको यो प्रजाति फिलिपिन्सको सबभन्दा ठूलो टापु लुजोनमा पाइएको छ जसपछि यस प्रजातिको नाम होमो लुजोनेसिस राखिएको छ ।
यस प्रजातिमा पाइएका केही भौतिक विशेषताहरू प्राचीन मानव प्रजाति र आजका मानव प्रजातिसँग मिल्छन् ।
यो प्राचीन मानव प्रजातिका मानिस अफ्रिकासँग जोडिएका हुन सक्छन् र उनीहरू पछि दक्षिणपूर्वी एसियामा आएर बसेका हुन सक्छन् । यी अवशेष फेला पार्नुअघि यसो हुन लगभग असम्भव मानिएको थियो ।
यो खोजपछि फिलिपिन्स र त्यस क्षेत्रमा मानव प्रजातिको विकास धनीभूत रूपमा भएको हुन सक्ने देखिएको छ किनकि त्यहाँ तीन वा त्यसभन्दा बढी मानव प्रजाति पहिलेदेखि नै थिए ।
तीमध्ये एकथरी होचा कदका हब्बिट थिए । तिनलाई होमो फ्लोरेसिन्सिस भनिन्छ र उनीहरू इन्डोनेसियाको फ्लोर्स टापुमा ५० हजार वर्षसम्म थिए ।
लन्डनको न्याचुरल हिस्ट्री म्युजियमका प्राध्यापक क्रिस स्ट्रिंगर भन्छन्, ‘सन् २००४ मा होचो कद भएका मानव प्रजाति होमो फ्लोरेसिन्सिसका बारेमा जानकारी प्रकाशित भएको थियो । त्यतिखेर मैले भनेको थिएँ, मानव प्रजाति खोज्ने काम फ्लोर्समा गरिएको छ र त्यस क्षेत्रका अन्य टापुमा पनि खोज्नुपर्छ । मेरो अनुमान सही थियो । फ्लोर्सभन्दा ३ हजार किलोमिटर पर रहेको लुजोन टापुमा सफलता प्राप्त भयो ।’
नेचर पत्रिकाका अनुसार, होमो लुजोनेसिसका अवशेष लुजोनको उत्तरमा भएका कैलाओ गुफामा पाइएका हुन् । यी गुफा ६७ हजार पुरानो भएको बताइएको छ ।
गुफामा प्राप्त अवशेषमा मानव शरीरको तीनवटा भाग भेटिएको छ । तिनमा दाँत, हात र गोडाका हाड संलग्न छन् । चारजनाको अवशेष भेटिएको छ जसमा एक युवाको अवशेष छ । तिनलाई सन् २००७ मा गुफामा उत्खनन गर्दा निकालिएका थिए ।
होमो लुजोनेसिसका केही विशेषता आजको मानव प्रजातिसँग मिल्छ । अस्ट्रलोपिथेसिन जस्तै सीधा उभिएर हिँड्ने र अफ्रिकामा पाइने बाँदरसँग मिल्ने मानव प्रजातिका विशेषता पनि छन् । उनीहरू लगभग २० देखि ४० लाख वर्षअघि त्यहाँ पाइन्थे । तिनका केही विशेषता प्राचीन होमो जातिसँग मिल्छन् ।
यिनीहरूको हात र गोडाका औंला भित्रतिर मोडिएका छन् जसले गर्दा यी मानिस रुख चढ्थे भन्ने संकेत पाइन्छ ।
अस्ट्रलोपिथेसिन जस्ता प्रजातिले दक्षिणपूर्वी एसियासम्म पुगेको बलियो प्रमाण पाइएमा मानव इतिहासको कुन वंशज अफ्रिकाबाट पहिले निस्केका हुन् भन्ने कुराको अनुमान गर्न सकिन्छ ।