२०७५ लाई फर्केर हेर्दा मुलुकले झेलेका १८ काण्ड

546

२०७५ विदा भएर गएको छ । तर, २०७५ मा घटेका केही महत्वपूर्ण घटना २०७६ को जिम्मामा परेकाछन् । २०७५ मा घटेका केही महत्वपूर्ण घटना जुन २०७६ सम्मै पुगेकाछन् ।

१, निर्मला पन्त प्रकरण
२०७५ को उल्लेख्य घटना हो, निर्मला पन्त बलात्कार प्रकरण । साउन १० मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । निर्मला पन्त प्रकरणमा प्रहरीकै कार्यशैली र अनुसन्धानमा प्रश्न उठेपछि यसले ठूलो रुप लिएको हो ।

२, होली वाईन
२०७५ मङ्सिर दोस्रो साता विभिन्न धार्मिक संगठनको संलग्नतामा नेपालमा भएको ‘एसिया प्यासिफिक समिट, २०१८’ ले सरकारलाई विवादमा तान्यो । समिटको अन्तिम दिन सम्पन्न होली वाईन कार्यक्रमले यो समिटलाई थप विवादास्पद बनायो ।
दलबल सहित कार्यक्रम स्थलमै बास बस्न प्रधानमन्त्री केपी शर्मा ओली नै पुगेपछि सरकार धर्म प्रचारमा लागेको आरोप लाग्यो । विवादास्पद समिटमा आउने पाहुनाको सुरक्षाकालागि भन्दै पहिलो दिन सडक खाली गराएपछि जनस्तरमै आलोचना भयो ।

३, ‘अभिमत’ मा देखिएका फरक मत
२०७५ साल फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग ११ बुँदे सहमति गर्यो । स्वतन्त्र मधेसको मागसहित देश नै टुक्र्याउने अभियानमा लागेका राउतसँग भएको सो सहमतिसँगै उनको समूह मूलधारमा आएको घोषणा गरियो । सहमतिमा प्रयोग गरिएको ‘अभिमत’ शब्दलाई लिएर राजनीतिक र सामाजिक वृतमा ठूलो चर्चा चल्यो ।

४, ‘विप्लव’ प्रतिबन्ध 
फागुन २८ गते सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’को पार्टीमाथि प्रतिबन्ध लगायो । प्रतिबन्ध लगाएर सरकारले २०५२ साल दोहोर्याउन खोजेको आरोप अहिले पनि लागिरहेको छ । विप्लव प्रतिबन्धले उब्जाएको त्रास अझै सकिएको छैन ।

५, एमाले–माओवादी एकता
२०७५ को सुरुवातमै नेकपा एमाले र माओवादी केन्द्रबिच एकता घोषणा भयो । जेठ ३ गते दुई दलबिच भएको एकतालाई दक्षिण एशियामै कम्युनिष्टको जितको रुपमा समेत अथ्र्याइएको थियो ।

६, मन्त्री तामाङको राजीनामा 
२०७५ सालमा संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपर्यो । दुई तिहाई बहुमत सरकारका मन्त्री तामाङले बङ्गलादेशमा एमबीबीएस पढ्न जाने छात्राको विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भयो । उच्च पदमा बसेर अन्ट–सन्ट बोलेको भन्दै तामाङको आलोचना भएपछि उनले साउन ८ गते पत्रकार सम्मेलन गरेर राजीनामा दिए ।

७, वाईडवडी प्रकरण
महालेखा परीक्षकको कार्यालयले सरकारले वाईडबडी जहाज खरिद गर्दा ठूलो अनियमितता गरेको औँल्याएपछि २०७५ भरी वाईबडी प्रकरण चर्चामा रह्यो । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्षसहितको प्रतिवेदन १८ पुसमा सार्वजनिक गर्यो ।

संसदीय समितिले पनि वाईडबडी खरिदमा भ्रष्टाचार भएको औल्यायो । तर, सरकारले संसदको प्रतिवेदन मात्रै मान्य नहुने भन्दै नयाँ समिति बनाएपछि यो प्रकरण थप जेलियो ।

८, लुट्न सके लुट कान्छा… 
लोक दोहोरी गायक पशुपति शर्माले फागुन पहिलो साता ‘लुट्न सके लुट…’ बोलको गीत सार्वजनिक गरे । गीत सार्वजनिक भएको केही समयमै भाईरल बन्यो । सरकारको दवाव भन्दै लगत्तै शर्माले यु ट्युबबाट गीत हटाए । नेकपा भातृसंगठन युवासंघको दवावमा हटाइएको उनले बताइरहँदा युवासंघले आधामात्र अपजस लियो । सामाजिक सञ्जालमा सरकारले यो प्रकरणमा चर्को आलोचना पनि खेप्यो ।

९, अस्वीकृत न्यायाधीश
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी यसपटक फेरी प्रधानन्याधीशको रेसमा उत्रिए । संवैधानिक परिषद्बाट सिफारिस भएर समेत उनी प्रधानन्यायाधीश हुन सकेनन् । परिषदबाट सिफारिस भएर गएका जोशीलाई संसदीय सुनुवाइ समितिले १८ साउनमा जोशीलाई प्रधानन्यायाधीश बनाउन नसिकने बतायो ।

१०, अख्तियार नै भ्रष्टाचारमा
भ्रष्टाचार नियन्त्रण गर्न स्थापित संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त नै घुस प्रकरणमा मुछिए । अख्यितारका आयुक्त राजनारायण पाठकले दुई पटक गरेर ९३ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भयो । अख्तियार नै घुस प्रकरणमा मुछिएपछि अख्तियारको विश्वसनियतामाथि नै प्रश्न उठेको छ ।

११, ‘नयाँ युग’ अर्थात सामाजिक सुरक्षा
नीजि क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा प्रदान गर्ने भन्दै सरकारले मंसिर दोस्रो साता नयाँ युग भन्दै कार्यक्रम सार्वजनिक गर्यो । बिजुलीका खम्बा र सडकमा नयाँ युग लेखेर पोष्टर टाँसिए ।

सञ्चारमाध्यममा विज्ञापन पनि गरियो । प्रधानमन्त्री ओलीको तस्विर सहित सार्वजनिक गरिएको यो कार्यक्रम पनि बीमा कम्पनी जस्तै भएको भन्दै आलोचना भयो । कतिपय विश्लेषले ओलीको नयाँ युगलाई आधुनिक पञ्चायत भन्दै आलोचना पनि गरे ।

१२, ३३ किलो सुन
२०७५ को भूल्नै नहुने अर्को काण्ड हो ३३ किलो सुन प्रकरण । वर्षभरी अनुसन्धान हुँदा पनि ३३ किलो सुन कता पुग्यो ? कसले लग्यो भन्ने अझै पत्ता लाग्न सकेको छैन । ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या २०७४ बाट तन्किएर २०७५ सम्म पुगेका हुन् ।

१३, रेशम चौधरी
कैलाली टिकापुरबाट निर्वाचित सांसाद रेशम चौधरी प्रकरण २०७५ को अचम्मलाग्दो प्रकरण मानिन्छ । भूमिगत भएरै निर्वाचनमा सहभागी भएर निर्वाचित भएका चौधरीलाई अदालतले जेल चलान गर्यो ।

जेलमै रहेका चौधरीलाई सरकारले पुस १९ गते सांसदको सपथ ग्रहण गरायो । सांसद सपथ ग्रहण गरेको २ महिनामै कैलाली जिल्ला अदालतले चौधरीलाई आजीवन कारावासको सजाय सुनायो । चौधरीलाई कारावास सजाय सुनाएसँगै चौधरी सम्बद्ध पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लियो ।

१४, बालुवाटार जग्गा विक्री 
वर्षको अन्तमा अच्चमलाग्दो ठगी प्रकरण बाहिरियो । प्रधानमन्त्री, सभामुख निवास सहित राष्ट्र बैंकको क्षेत्राधिकार भित्र पर्ने बालुवाटरको १ सय १३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी भएको रहस्य उजागर भयो । सत्तारुढ दलका महासचिव समेत मुछिएको बालुवाटार प्रकरण २०७६ मा पनि चर्चामा रहने देखिन्छ ।

१५, गोबिन्द केसी 
यो वर्ष पनि गोविन्द केसीको अनशनले नियमितता पायो । पुस अन्तिम साता इलाम गएर आफ्नो १६ औँ अनसन सुरु गरेका थिए । केसीको अनशनले संसदमा ठूलै चर्चा पायो । चिकित्सा शिक्षा विधेयक विरुद्ध अनशन बसेका केसीको पक्षमा उभिएको कांग्रेसले संसदमा ठूलै हंगामा मच्चाएपनि सरकारले चिकित्सा शिक्षा ऐन पास गरेरै छाड्यो ।

त्यसो त यसपल्ट सरकार पनि केसी विरुद्ध कडा रुपमा प्रस्तुत भएको थियो । सत्तारुढ दलका नेता योगेश भट्टराईले केसीलाई कम्युनिष्ट फोबिया भएको आरोप पनि लगाएका थिए ।

१६, सिन्डीकेट
सरकारले आफ्ना महत्वपूर्ण उपलब्धीमा राखेको विषय हो सिन्डीकेट । यातायात क्षेत्रमा वर्षौदेखि रहेको सिन्डिकेट हटाउन लागिपरेको सरकारले सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीलाई पक्राउ गर्नेदेखि, व्यवसायीको बैंक खाता रोक्का गर्ने सम्मका काम गर्यो । सरकारको कडाईका वावजुद पनि सार्वजनिक सवारी प्रयोगकर्ताले भने सिन्डीकेट तोडिएको अनुभूति अझै गर्न पाएनन् ।

१७, विस्थापित भएका केशव स्थापित
प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए । १६ कात्तिकमा मुख्यमन्त्रीले स्थापितलाई बर्खास्त गरेका थिए । उनी र मुख्यमन्त्रीबीच विवाद भएपछि उनलाई बर्खास्त गरिएको थियो ।

१८, दीर्घ सोडारी राजिनामा
सुदूरपश्चिम प्रदेशका दीर्घ सोराडी २७ कात्तिकमा बर्खास्त भए । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । बर्खास्त हुनुपहिले मन्त्री सोराडीको गाडी अरूले चलाएको समयमा दुर्घटना भएको थियो । सोराडीलाई आफ्नै जिल्लाको कार्यकर्तासँगको अनैतिक सम्बन्धका कारण हटाइएको थियो । स्थापित पछि बर्खास्त हुने उनी दोस्रो व्यक्ति हुन् ।सिलापत्रको सहयोगमा