जनकपुरधाम । जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
संघिय सरकारमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवको लगानी रहेको उक्त अस्पतालमा कार्यरत रक्षा आले आइतबार बिहान शौचालयमा पासो लागेर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
रक्षाका आफन्तले भने घट्ना शंकास्पद रहेको भन्दै सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनीहरुले रक्षाले आत्महत्या गरेको भनिएपनि घट्नास्थलको प्रकृति हेर्दा आत्महत्या भन्न नसकिने बताएका छन् । रक्षाकी आफन्त रुद्र बर्जामगरले शौचालयमा झुण्डिएको अवस्था हेर्दा शंकास्पद देखिएको भन्दै घटनाको छानविन गर्न माग गरे ।
त्यस्तै बुवा लालबहादुर आलेले रक्षा विगत ८ महिनादेखि अस्पतालमा कार्यरत रहेको भन्दै उनमा कुनै समस्या नरहेकाले छोरीको हत्या नै भएको जिकिर गरेका छन् । उनले ‘घटनाको निष्पक्ष छानविन गर्नुपर्छ’ लालबहादुरको माग छ ।
महोत्तरीको गौशाला नगरपालिका रामनगरकी २४ वर्षीया रक्षा हस्पिटलको होस्टेलमा बस्दै आएकी थिइन । आईतवार विहान प्रहरीले मुचुल्का गरेर शवलाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगेको र थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नावय उपरीक्षक रामेश्वर कार्कीले बताए । रक्षाको आत्महत्या वा हत्या भन्ने विषयमा अनुसन्धान भइरहेकाले यसै हो भन्न नसकिने प्रहरीले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार रक्षाले होस्टलमा सँगै बस्ने अर्की एक जना स्टाफ नर्स साथीसँग समलैंगिकता सम्बन्ध कायम गर्न दवाव दिदैँ आएको थिइन् ।
समलैंगिकताकै कारण एक अर्कासँग सम्बन्ध बनाउन नसकेको तथा गोप्य कुरा सबैले थाहा पाएपछि पनि प्रेम गरिरहेकी साथीले समेत साथ र सहयोग नदिएपछि डिप्रेशनका कारण आत्महत्याको बाटो राजेको हुनुपर्ने कतिपयको भनाई छ ।







































