राप्रपा कार्यदल गठन, हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि समान विचार भएका दलहरुसँग सहकार्य गर्ने

229

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि समान विचार भएका दलहरुसँग सहकार्य गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशलाई हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गराउन निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै हिन्दू राष्ट्रको पक्षमा हुने सबै गतिविधिमा धार्मिक सङ्घसंस्था र जनसमुदायलाई सहयोग गर्न आग्रह गरेको छ ।

पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोस्रो चरणको सङ्घर्षलाई प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा राजेन्द्र लिङ्देन, डा धवलशम्शेर राणा, भाष्कर भद्रा, विक्रमबहादुर थापा, कुन्तीकुमारी शाही र प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात दिनभित्र कार्ययोजना पेश गर्ने पार्टीले जनाएको छ । यसैबीच राप्रपालाई वार्तामा आउन आग्रह गर्दै सरकारले आइतबरा पत्र पठाएको छ ।