”उनीहरुले मलाई मार्छन् , म जर्मन जान चाहान्छु”

103

साउन ३१,
बीबीसी । ‘म सपनामा बारम्बार तालिबानले मेरो सहर नियन्त्रणमा लिएको देख्छु,’ हबीब भन्छन्। हबीब अफगानिस्तानका पत्रकार हुन्। उनी पछिल्लो आठ वर्षयता जर्मनीको सेनाले लगानी गरेको सञ्चारमाध्यममा काम गरिरहेका छन्। अन्तराष्ट्रिय फौज फिर्ता हुन थालेपछि जुन महिनाको अन्त्यबाट उनको रोजगारी रद्द गरिएको थियो।

तीन हप्ताअघि बीबीसीलाई दिएको अन्तरवार्तामा सुरक्षाको कारण देखाउँदै उनले आफ्नो पहिचान नखुलाइदिन आग्रह गरे। तीन सन्तानका पिता रहेका उनले भने, ‘यदि तालिबानले मेरो सहर कब्जा गरे भने उनीहरूले मलाई मारिदिनेछन्।’ अमेरिकी फौज फिर्तीसँगै हालैका साताहरूमा उग्रवादीहरूको पकड मजबुत हुँदै गएको छ र उनीहरूले सरकारी फौजबाट कैयौँ जिल्ला नियन्त्रणमा लिँदै आफ्नो प्रभाव विस्तार गरेका छन्।

उनीहरू कुन्दुज, हेरत, कान्दाहार र लश्कर गाहको नजिक पुगिसकेका छन्। उत्तरी अफगानिस्तानमा लामो पर्खाइले हबीबलाई पीडा दिइरहेको छ। उनको सहर अझै पनि अफगान सेनाको नियन्त्रणमा छ तर तालिबानहरू टाढा छैनन्। विस्फोटन र बन्दुक पड्किरहेको आवाज उनी सुनिरहन्छन्।
विमानस्थल उग्रवादीहरूको नियन्त्रणमा पुगे भाग्न नसकिने चिन्ता उनको छ।
यो बीचमा उनीसँग रहेका सम्पत्तिको मूल्य व्यापक घटिरहेको छ।

हबिब जर्मनी जान पाउने इमेलको पर्खाईमा छन्

‘कसैले पनि कार वा घर किन्न चाहादैँनन्। मानिसहरू सबै थोक बेचेर भाग्न चाहन्छन्।’
हबीब आफ्नो जीवन रक्षा गर्ने एउटा सन्देशको पर्खाइमा छन्। ‘हामी आशा र निराशाको दोधारमा छौँ। तपाईँ जर्मनी आउन मिल्छ भनेर लेखिएको इमेल म कुरिरहेको छु।’