माओवादी केन्द्रको निर्णय, यथास्थितिमा एमसीसी पास नगर्ने

45

कात्तिक २३,
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।

हालै मात्र प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएपछि यो विषय सार्वजनिक भएको थियो । यसलाई लिएर माओवादी केन्द्रका नेताहरुले मंगलबारको बैठकमा प्रश्न उठाएका हुन् । नारायणकाजी श्रेष्ठ प्रकाश, देव गुरुङ, लीलामणि पोखरेल लगायतले पत्र पठाउनु गम्भीर त्रुटि भएको बताएका थिए ।

लगत्तै अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिएका छन् । बाहिर चर्चा भए जस्तो एमसीसी पास गर्छौं भनेर पत्र नलेखेको उनको दाबी छ । ‘अध्यक्षले यथास्थितिमा पास गर्ने केही लेखिएको छैन भन्नुभएको छ,’ एक स्थायी समिति सदस्यले भने, ‘राष्ट्रिय सहमति चाहिन्छ, त्यसका लागि समय चाहिन्छ भनेका छौं भन्नुभयो ।’

सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक प्रयास भइरहेकाले पनि सम्झौतामा संशोधन भए सहयोग लिन्छौं भनेर पत्र लेख्नु परेको प्रचण्डले बताएका छन् । एक नेता अनुसार बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नै राष्ट्रिय संवेदशनीलतासँग जोडिएकाले एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गर्ने प्रस्ताव राखेका थिए, जसलाई स्थायी समितिले अनुमोदन गरेको छ ।